काठमाण्डु – सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठक बिना निष्कर्ष सकिएको छ । सोमबार संसद भवन बानेश्वरमा बसेको बैठकमा प्रमुख प्रतिपक्ष एमाले नै सहभागी नभएपछि बैठकमा कुनै सहमति नजुटेको नेताहरुले जानकारी दिएका छन् ।
नेकपा एमालेले बारम्बार प्रतिनिधिसभा अवरोध जारी राखेपछि सहमति जुटाउनका लागि सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका थिए । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रतिपक्ष एमाले बैठकमा सहभागी नै नभएपछि कुनै निष्कर्षमा पुग्न नसकेको बताए ।
राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले संसद सहज रुपमा सुचारु गर्न बैठक आव्हान गरेपनि प्रतिपक्ष नआएकाले कुनै निष्कर्षमा पुग्न नसकिएको जानकारी दिइन् । त्यसैगरी उक्त बैठकमा नेताहरुले सभामुखलाई पुन एमाले सांसदहरु सँग संवाद गरेर निकास खोज्न सुझाव दिएका छन् ।
बैठकमा कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका नेताहरू सहभागी थिए ।
एमाले सांसदहरुले माधव नेपालसहितका १४ जना सांसदहरुलाई कारबाही नगरेको भन्दै संसद् अवरुद्ध पारेको बताएका छन् । उनीहरूले आफ्ना माग पुरा नभएसम्म संसद् चल्न नदिने समेत चेतावनी दिएका छन् ।




प्रतिक्रिया