संसद्को पहिलो दिन अध्यादेश र छिट्टै प्रतिस्थापन विधेयक पेश गर्ने प्रधानमन्त्रीको प्रस्ताव

संसद्को पहिलो दिन अध्यादेश र छिट्टै प्रतिस्थापन विधेयक पेश गर्ने प्रधानमन्त्रीको प्रस्ताव


काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी हिउँदे अधिवेशनको पहिलो दिन अध्यादेश र छिट्टै प्रतिस्थापन विधेयक पेश गर्ने प्रस्ताव गरेका छन् ।

सोमबार साँझ सरकारी निवास बालुवाटारमा बसेको बैठकमा उनले जनतालाई सेवा दिन र विकास निर्माणका कामलाई गति दिन अत्यावश्यक भएका अध्यादेशहरू संसद्को पहिलो दिनमै पेश गर्ने जानकारी गराएका हुन् ।

संसद्लाई पर्याप्त बिजनेश दिएर कानून निर्माणका कामलाई तीव्रता दिन राजनीतिक दल र सांसद्हरूको प्रभावकारी भूमिका आवश्यक पर्ने उनले बताएका स्रोतले जनाएको छ ।

संघीय संसद्को आसन्न हिउँदे अधिवेशनमा सत्तापक्षको तयारी र सरकारका कामको प्रभावकारिता लगायत विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीको आह्वानमा सत्तापक्षीय राजनीतिक दलको बैठक बालुुवाटारमा बसेको छ ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउत, जनता समाजवादी पार्टी नेपालका नेता राजकिशोर यादव तथा संसदीय दलका प्रमुुख सचेत समेत सहभागी छन् ।
यसै माघ १८ गतेदेखि संसद्को अधिवेशन आह्वान भएको छ । अधिवेशनअघि नेपाली कांग्रेसले संसदीय दलको बैठक गरिसकेको छ ।