काठमाण्डु – राष्ट्रिय सभा अन्तर्गत प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक आज बस्दै छ । दिउँसो ३ बजेका लागि बोलाइएको बैठक कानून, न्याय तथा मानव अधिकार समितिको हल सिंहदरबारमा बस्ने समिति सचिवालयले जनाएको छ ।
कोरियन भाषा परीक्षा पास गरी कोरिया रोजगारीमा कामदार पठाउनेबारे समितिले दिएको निर्देशन कार्यान्वयनको अवस्थाका बारेमा छलफल हुने कार्यसूची छ । गत साउन १७ गते बसेको समितिको बैठकले इपिएस परीक्षा पास गरेर अलपत्र परेका कामदारलाई तत्काल दक्षिण कोरिया पठाउन सरकारलाई निर्देशन दिएको थियो ।
बैठकले इपिएस परीक्षा पास गरेर बसेका कामदारलाई तत्काल दक्षिण कोरिया पठाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको थियो ।
निर्देशनको कार्यान्वयनबारे छलफल गर्न मुख्य सचिव शंकरदास बैरागी र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सुर्यप्रसाद गौतमलाई समेतलाई बोलाइएको छ ।
इपिएस परीक्षा पास गरेर बसेका करिब १० हजार कामदारहरुले दक्षिण कोरिया पठाउने काममा सरकारले आलटाल गरेको भन्दै समितिमा उजुरी दिएका थिए ।




प्रतिक्रिया