शीर्ष नेताको बैठकमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने माओवादी अडान, छलफल निष्कर्षविहीन

शीर्ष नेताको बैठकमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने माओवादी अडान, छलफल निष्कर्षविहीन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रमुख ३ दलका शीर्ष नेताबीच भएको भेटवार्तामा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अडान राखेको छ ।

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा सोमबार भएको बैठकमा संसद्को ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित नेताहरू सहभागी थिए ।

बैठकमा संसद्को गतिरोध कसरी हल गर्ने र अघि बढ्ने भन्ने विषयमा छलफल भएको नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको नाम जोडिएपछि विपक्षी दलहरूले राजीनामा माग्दै संसद् अवरुद्ध गर्दै आएका छन् ।

उनले भने, ‘बैठकपछि हामीले अरु प्रतिपक्ष दलसँग पनि छलफल गर्दैछौं । अहिले छलफल मात्रै भयो । संसद् खोल्नुपर्छ भन्ने सत्तापक्ष र प्रधानमन्त्रीले राख्नुभयो । गृहमन्त्री लगायतले पनि राख्नुभयो । राजीनामा होइन, संसद् खोलेर अघि बढ्नुपर्छ भन्नुभयो ।’

माओवादीले राजीनामा नदिएसम्म बैठक चल्न नदिने अडान राखेको छ । उनले भने, ‘सुशासनलाई केन्द्रित गरेर हामीले आफ्नो विषयवस्तु राखेका छौं । हामीले जो विषयवस्तु राखेका छौं, त्यो यथावत नै छ । सदनमा राखेको विषय त्यही हो । भिजिट भिसा, त्यहाँ जसरी गडबड भएको छ, गृहमन्त्रीले हल गर्न, अनुसन्धान गर्न मार्गप्रशस्त गरिदिनुपर्छ भन्ने हो । मार्गप्रशस्त भनेको राजीनामा नै हो ।’

बैठकमा उपस्थित गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा कुनै पनि संलग्नता नरहेको स्पष्टीकरण दिएका थिए ।