काठमाण्डु – भारतका विदेशमन्त्री डा. एस जयशंकरले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र विदेशमन्त्री सर्गेई लाभरोभसँग भेटवार्ता गरेका छन् ।
विदेशमन्त्री जयशंकरले रुसका विदेशमन्त्रीसँग द्विपक्षीय सम्बन्धबारे विस्तृत छलफल गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
वार्तामा व्यापार, लगानी, ऊर्जा, मल, स्वास्थ्य, सीप र गतिशीलता, रक्षाजस्ता विषयमा छलफल भएको जनाइएको छ ।
जयशंकरले भनेका छन्, ‘हामीले युक्रेन, युरोप, इरान, पश्चिम एसिया, अफगानिस्तान र भारतीय उपमहाद्वीपमा हाम्रा विचार साझा गरेका छौं । हामीले यूनएन, जी२०, एससीओ र ब्रिक्समा पनि सहयोबारे छलफल गरेका छौं ।’
परराष्ट्रमन्त्री जयशंकरले रुसको सबैभन्दा ठूलो खरिदकर्ता भारत नभएको बताएका छन् । उनले भने, ‘हामी रुसी तेलको सबैभन्दा ठूलो खरिदकर्ता होइनौं, यो चीन हो । न त हामी रुसी एलएनजीको सबैभन्दा ठूलो खरिदकर्ता हौं, म निश्चित रूपमा भन्न सक्दिनँ तर सायद यो युरोपेली संघ हो ।’
अहिले भारतले अमेरिकाबाट पहिलेभन्दा बढी तेल खरिद गरिरहेको उनले बताए । उनले भने, ‘हामी त्यो देश हौं, जसलाई अमेरिकाले विगत केही वर्षमा अन्तर्राष्ट्रिय ऊर्जा बजारलाई स्थिर बनाउन हरसम्भव प्रयास गर्नुपर्छ भनेर भनेको छ, जसमा रुसबाट तेल खरिद गर्ने कुरा पनि छ । संयोगवश, हामी अमेरिकाबाट पनि तेल किन्छौं र यो मात्रा पहिलेभन्दा बढेको छ ।’
भारतले रुससँग व्यापार जारी राखेको आरोप लगाउँदै अमेरिकाले भारतविरुद्ध करवृद्धि गरिरहेको छ । जसले गर्दा अमेरिका र भारतको सम्बन्धमा दरार उत्पन्न भएको छ ।




प्रतिक्रिया