भियतनामका उपराष्ट्रपति भोसँग परराष्ट्रमन्त्री डा. राणाको भेटवार्ता

भियतनामका उपराष्ट्रपति भोसँग परराष्ट्रमन्त्री डा. राणाको भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल भ्रमणमा रहेका समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआनसँग परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले शिष्टाचार भेटवार्ता गरेकी छन् ।

उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको ३ दिने औपचारिक भ्रमणका लागि शनिबार काठमाण्डु पुगेकी उपराष्ट्रपति भोसँग मन्त्री डा. राणाले भेटवार्ता गरेकी हुन् ।

भेटमा नेपाल–भियतनाम सम्बन्धका विविध आयामका साथै द्विपक्षीय हित र आपसी चासोबारे कुराकानी भएको जनाइएको छ । भेटमा मन्त्री डा. राणाले पछिल्लो समय तीव्र आर्थिक विकासका लागि भियतनामलाई बधाई दिँदै आर्थिक विकासबाट अन्य देशले पनि सिक्न सक्ने बताइन् ।

मन्त्री डा. राणले दुवै देशको सांस्कृतिक सम्बन्धलाई उजागर गर्नुपर्ने र बौद्ध धर्म दुवै देश र जनताका बिचको सम्बन्ध विस्तारको एक सबल कडी रहेकोमा जोड दिइन् । उनले भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमणमा धेरै भियतनामी नागरिक आउने गरेको प्रसङ्ग उल्लेख गर्दै सांस्कृतिक पर्यटन प्रवर्द्धनका क्षेत्रमा दुवै देश मिलेर काम गर्न सकिने पनि बताए ।

पछिल्ला वर्षमा नेपाल र भियतनामका पर्यटकको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको जानकारी दिँदै मन्त्री डा. राणाले यो अवसरको उपयोग गर्दै दुवै देश पर्यटन क्षेत्रको प्रवर्द्धनमा सहकार्य गर्दै अघि बढ्नुपर्ने बताइन् ।

मन्त्री डा. राणाले भियतनामबाट नेपालका भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थलमा उडानको वातावरण निर्माणका लागि पनि आग्रह गरिन् ।

भेटमा मन्त्री  राणाले नेपालले सन् २०२७ देखि २०२९ सम्मका लागि मानवअधिकार परिषद्को सदस्य र २०२९ देखि २०३१ सम्मका लागि आर्थिक तथा सामाजिक परिषद् सदस्यमा उम्मेदवारी दिएकाले त्यसमा सहयोगका लागि आग्रह गर्दा उपराष्ट्रपति भोले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

नेपाल र भियतनाम द्विपक्षीय र बहुपक्षीय तहमा एकअर्कालाई सहयोग र समर्थन गर्दै आएको उल्लेख गर्दै दक्षिण–दक्षिण सहयोग, जलवायु परिवर्तनजस्ता विश्वव्यापी एजेण्डामा आगामी दिनमा पनि सहकार्यका साथ अघि बढ्नुपर्नेमा छलफल भएको जनाइएको छ ।