काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी जिनफिङसँग द्विपक्षीय भेटवार्ता गरी नेपाल–चीन सम्बन्धका विविध पक्षमा छलफल गरेका छन् ।
नेपाली राजदूतावास बेइजिङले शनिबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै भेटमा दुवै नेताले आपसी हितका क्षेत्रमा सहयोगलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका जनाएको छ ।
प्रधानमन्त्री ओलीले नेपालको विकास प्रयासमा चीनले दिएको निरन्तर सहयोगप्रति आभार व्यक्त गर्दै नेपाल–चीन सम्बन्ध पञ्चशीलका सिद्धान्तमा आधारित रहेकाले सधैं सहज रहँदै आएको बताए ।
भेटमा प्रधानमन्त्री ओलीले सन् २०२५ को शांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनको सफलताका लागि शुभकामना व्यक्त गर्दै नेपाललाई एससीओको सदस्यता प्रदान गर्न चीनको समर्थनका लागि आग्रह गरे ।
उनले लिपुलेकमार्फत भारत–चीनबीच भएको व्यापारिक समझदारीप्रति गम्भीर आपत्ति जनाउँदै लिपुलेक नेपालको सार्वभौमसत्ता अन्तर्गत पर्ने भएकाले नेपाल सरकारले कडा आपत्ति दर्ता गराएको छ । उनले मल, पेट्रोलियम अन्वेषण, जनशक्ति विकास, वातावरणीय प्रतिरोधात्मक क्षमता र जनस्तरको सम्बन्ध विस्तारजस्ता क्षेत्रमा सहयोगका लागि चीनसँग आग्रह गरे ।
राष्ट्रपति सी जिनफिङले समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षा पूरा गर्न चीनले निरन्तर सहयोग गर्ने विश्वास दिलाए । उनले नेपालले ‘एक चीन नीति’मा गरेको दृढ समर्थनप्रति धन्यवाद दिँदै ‘बेल्ट एण्ड रोड’ परियोजनामार्फत सहकार्यलाई अझ अगाडि बढाउने प्रतिबद्धता जनाए ।
यसअघि चीन पुगेका प्रधानमन्त्री ओलीलाई विमानस्थलमा चीनका वाणिज्य प्रशासन मन्त्री सन मेइजुन, टियांजिन जनकांग्रेस अध्यक्ष यु युनलिन तथा चीनस्थित नेपाली राजदूत डा. कृष्णप्रसाद ओलीले स्वागत गरेका थिए ।
प्रधानमन्त्री ओली आईतबार चीनका राष्ट्रपति सी जिनफिङ र उनकी पत्नी पेंग लियुआनद्वारा आयोजित स्वागत भोज र सांस्कृतिक कार्यक्रममा सहभागी हुने तथा एससीओ शिखर सम्मेलनका क्रममा विभिन्न मुलुकका शीर्ष नेतासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ ।





प्रतिक्रिया