निर्वाचन तयारीबारे प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति यादवबीच भेटवार्ता

निर्वाचन तयारीबारे प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति यादवबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा. रामवरण यादवबीच आगामी निर्वाचन तयारी र राजनीतिक वातावरणबारे बालुवाटारमा भेटवार्ता भएको छ ।

प्रधानमन्त्री कार्कीले भेटमा जेनजी आन्दोलनको भावनाअनुसार सुशासन कायम गर्दै जननिर्वाचित सरकारलाई शक्ति हस्तान्तरण गर्ने लक्ष्यका साथ सरकार अघि बढिरहेको बताइन् ।

पूर्वराष्ट्रपति यादवले सबै राजनीतिक दलहरूले चुनावमा सहभागी हुनुपर्ने आवश्यकता औंल्याउँदै लोकतान्त्रिक प्रक्रियालाई अघि बढाउन निर्वाचन नै सर्वोत्तम उपाय भएको बताए । उनले भने, ‘राजनीतिक दलहरू चुनावमा जानैपर्छ । मुलुकलाई लोकतान्त्रिक प्रक्रियामा लैजान चुनाव नै सर्वोत्तम बाटो हो ।’

यादवले सरकारका तर्फबाट भइरहेको तयारी, विभिन्न पक्षहरूसँगको संवाद, निर्वाचन आयोगलाई बजेट उपलब्ध गराइएको व्यवस्था र आवश्यक सामग्री तयारीको प्रशंसा गरे । उनले सरकारलाई नागरिक समाजसँग पनि संवाद विस्तार गर्न सुझाव दिए ।

भेटका क्रममा यादवले २०७० सालमा आफू राष्ट्रपति हुँदा तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारमार्फत निर्वाचन सम्भव भएको अनुभव पनि साझा गरे । त्यतिबेलाको सुरक्षा अवस्था र भूराजनीतिक सन्दर्भमा पनि उनले चर्चा गरे ।

पूर्वराष्ट्रपतिले निर्वाचनको तयारीमा सबै सुरक्षा निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गर्दै सबै दलले फागुन २१ मा हुने निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गरे । उनले जोड दिए, ‘चुनावको विकल्प छैन । अहिले यो प्रक्रियालाई कुनै पनि बहानामा अल्झाउनु हुँदैन ।’

भेटमा अर्थमन्त्री रामेश्वर खनाल, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल लगायतका मन्त्रीहरूको उपस्थिति थियो ।

यसअघि गृहमन्त्री ओमप्रकाश अर्यालले पनि मंगलबार पूर्वराष्ट्रपति यादवको ललितपुरस्थित निवासमा पुगेर निर्वाचन तयारीबारे भेटवार्ता गरेका थिए । सरकारले फागुन २१ गतेको निर्वाचनका लागि राजनीतिक दल, नागरिक समाज र सरोकारवाला पक्षहरूसँग निरन्तर संवाद अघि बढाइरहेको छ ।