प्रधानमन्त्री कार्कीसँग नर्वेली राजदूत मियोसको भेटवार्ता

प्रधानमन्त्री कार्कीसँग नर्वेली राजदूत मियोसको भेटवार्ता


काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्कीसँग बुधबार नर्वेली राजदूत ड्याग्नी मियोसले शिष्टाचार भेट गरेकी छन् ।

प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा सम्पन्न भेटमा द्विपक्षीय आपसी हितका विषयमा कुराकानी भएको थियो ।

राजदूत मियोसले नेपालका प्रथम महिला प्रधानमन्त्रीका रूपमा कार्कीलाई पाउँदा खुसी व्यक्त गर्दै उनको नेतृत्वमा आगामी निर्वाचन निर्बाध सम्पन्न हुने विश्वास व्यक्त गरिन् । नेपालको शान्ति प्रक्रिया, संविधान निर्माण, जलवायु, दिगो विकास लगायत क्षेत्रमा नर्वेले सघाउँदै आएको स्मरण गराउँदै उनले आगामी दिनमा पनि निरन्तर रहने विश्वास व्यक्त गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले पनि असामान्य परिस्थितिमा आफू सरकारमा आउनुपरेको तर अब बिस्तारै मुलुक सामान्य अवस्थामा फर्किंदै चुनावमा होमिएको बताइन् । नर्वेसहित अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त विश्वास र समर्थनका लागि उनले धन्यवाद पनि दिइन् ।

प्रधानमन्त्री कार्कीसँग राजदूत मियोसको यो पहिलो भेट रहेको छ ।