टोकियो – राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल जापान बीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखिका सम्बन्धहरू अझ निकटता र गहिरो मित्रताका साथ अघि बढिरहेको बताउँदै यो सम्बन्ध र सहयोगलाई सुदृढ गर्न जापानी नेतृत्वसँग मिलेर काम गर्न चाहेको बताएका छन् ।
जापानको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्री तकाइची सनायले मंगलबार गरेको शिष्टाचार भेटका अवसरमा राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन् ।
‘हामीप्रति जापान सरकारको निरन्तर सहयोग, सद्भावना र समझदारीका लागि आभारी छौं, २ मुलुकबिचको मैत्रीपूर्ण सम्बन्ध र पारस्परिक सहयोगलाई थप सुदृढ गर्न हामी आगामी दिनमा जापानी नेतृत्वसँग मिलेर काम गर्न चाहन्छौं,’ राष्ट्रपति पौडेलको भनाइ उदृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले भने ।
नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औं वार्षिकोत्सव हामीबिच स्थापित द्विपक्षीय सम्बन्धको एक कोशेढुङ्गा हो भन्दै उनले यसप्रकारको उच्चस्तरीय भ्रमणको आदानप्रदानले सम्बन्धलाई थप मजबुत तुल्याउने बताए ।
जापानले द्विपक्षीय अनुदान, ऋण, बहुपक्षीय सहायता र प्राविधिक लगायतका गर्दै आएको सहयोगले नेपालमा मानव संसाधन विकास, स्वास्थ्य, कृषि विकास, पूर्वाधार विकास, वातावरण संरक्षण, संस्कृति जगेर्ना गर्ने कार्यमा महत्त्वपूर्ण योगदान पुगेको उनको भनाइ थियो ।
‘नेपाल अतिकम विकसित राष्ट्रहरूको श्रेणीबाट स्तरोन्नति हुने क्रममा नेपालले जापानबाट, सदाझैं सहयोग र सदभाव प्राप्त गर्ने नै छ भन्ने विश्वास लिएको छु,’ राष्ट्रपति पौडेलले भने । सो अवसरमा जापानका प्रधानमन्त्री तकाइची सनायले नेपालको स्थायित्व जापानको लागि र यस क्षेत्रकै लागि महत्वपूर्ण भएकाले नेपालमा आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन सफल होस् भन्ने जापानको कामना रहेको बताएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार पोखरेलले जानकारी दिए ।
जापानका प्रधानमन्त्री तकाइची सनायले निर्वाचनमा जापानले पर्यवेक्षक पठाउने पनि बताइन् । उनले नेपाल र जापान विगत लामो समयदेखिका घनिष्ठ मित्र रहेको उल्लेख गर्दै जापानमा अध्ययनरत नेपाली विद्यार्थीहरुको सम्पर्क र जापानी नागरिकले नेपालको हिमालहरू चढ्ने गरेकोजस्ता कारणले २ देशबिचको सम्बन्ध प्रगाढ हुँदै गएको बताइन् ।
प्रधानमन्त्री सनायले नेपाल जापान कूटनीतिक सम्बन्धका अवसरमा दुबै देशबीच झन् प्रगाढ होस् भन्दै जापानले नेपालको सूूचना प्रविधिको क्षेत्रमा र लोकतन्त्रका लागि निरन्तर सहयोग गर्ने पनि बताइन् ।




प्रतिक्रिया