काठमाण्डु – गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चाङ माओमिङबिच शिष्टाचार भेटघाट सम्पन्न भएको छ ।
गृह मन्त्रालयमा सोमबार भएको भेटमा राजदूत माओमिङले गृहमन्त्री गुरुङलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
भेटका क्रममा गृहमन्त्री गुरुङले नेपाल ‘एक चीन नीति’प्रति प्रतिबद्ध रहेको स्पष्ट पार्दै नेपाली भूमिमा चीनविरोधी गतिविधि हुन नदिने विषयमा सरकार सजग रहेको जानकारी दिए । उनले नेपालको सार्वभौमसत्ता, स्वाधीनता र भौगोलिक अखण्डताको सुरक्षा गर्न सरकार सक्षम रहेको उल्लेख गरे ।
नेपालमा भिसा अवधि सकिएर अवैध रूपमा बसिरहेका चिनियाँ नागरिकलाई निष्कासन गर्ने कार्यका लागि आवश्यक समन्वय र सहजीकरण गर्न गृहमन्त्रीले राजदूतसँग अनुरोध गरेका छन् ।
गृहमन्त्री गुरुङले चिनियाँ सहयोगमा सञ्चालित आयोजनाहरू समयमै सम्पन्न गर्न, नेपाल–चीन रेलमार्ग निर्माण अगाडि बढाउन तथा २ देशबिच व्यापार सहजीकरणमा पहल गर्न पनि आग्रह गरेका छन् ।
सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि सहकार्य गर्न नेपालले प्रस्ताव राखेकोमा राजदूत माओमिङले चीन सरकार सकारात्मक रहेको जनाउँदै नेपालका सुरक्षा निकायको क्षमता विकासमा समेत सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यसैबिच सिन्धुपाल्चोकको तातोपानी नाकामा मालबाहक सवारी आवागमन असहज भएको भन्ने समाचारप्रति गृहमन्त्रीले जिज्ञासा राखेका थिए । त्यसमा राजदूत माओमिङले चिनियाँ पक्षबाट कुनै असहजता नरहेको र त्यस्ता समाचारहरू गलत रहेको स्पष्ट पारे ।
भेटघाटका क्रममा दुवै पक्षले नेपाल–चीनबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ र विस्तार गर्दै आगामी दिनमा अझ घनिष्ट सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।




प्रतिक्रिया