काठमाण्डु – नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक आज बुधवार बिहान ८ बजे बस्दैछ ।
बालकुमारीस्थित कान्तिपुर गार्डेन ब्यांक्वेटमा मंगलवारदेखि सुरू भएको छैटौं बैठकमा प्रस्तुत भएका विभिन्न प्रतिवेदनमा छलफल जारी रहेकाले बुधवार पुनः बस्ने गरी बैठक स्थगित गरिएको थियो ।
मंगलवारको बैठकमा राजनीतिक प्रतिवेदन, लेखा आयोग र निर्वाचन आयोगको प्रतिवेदन पेश गरिएका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा सैद्धान्तिक वैचारिक दृष्टिकोण, नेपाली समाजको विशिष्ट अवस्था, भूराजनीतिक परिस्थिति, समाजवादी व्यवस्था लगायत विषय उल्लेख गरिएको छ ।
पार्टी मातहतका कमिटी तथा जनवर्गीय संगठनले गरेका कार्यप्रगतिको समीक्षा गरिने बैठकमा पार्टीका भावी योजनाबारे आवश्यक रणनीति तय गरी त्यसलाई अनुमोदन गरिने छ । पार्टीका महासचिव घनश्याम भुसालको सांगठनिक प्रतिवेदनमा छलफल भएपछि बैठकमा महाधिवेशनको मिति र स्थान घोषणा गरिने जनाइएको छ ।




प्रतिक्रिया