काठमाण्डु – राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र बेल्जियमको सिनेटकी सभामुख स्टेफिन डी होसकाबीच भेटवार्ता भएको छ ।
अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १४७औं महासभाका क्रममा एङ्गोलाको राजधानी लुवाण्डामा आज बिहीबार भेटवार्ता भएको हो ।
भेटवार्ताका क्रममा अध्यक्ष तिमिल्सिनाले नेपाल र बेल्जियम बीचको आपसी सम्बन्ध सद्भाव, विश्वास र पारस्परिक सम्मानले चिनिएको बताउँदै दुवै मुलुकले अन्तर्राष्ट्रिय मञ्चमा साझा धारणा राख्दै आएको स्मरण गरेका छन् ।
विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा एकअर्का देशलाई समर्थन गर्दै आएको कुरामा जोड दिँदै उनले बेल्जियमले नेपालको विकास प्रयासमा विभिन्न दातृ निकायमार्फत् पुर्याएको योगदानका लागि धन्यवाद दिए ।
नेपाल र बेल्जियमबीचको सम्बन्ध प्रगाढ बनाउन २ देशका संसद्हरूको महत्त्वपूर्ण भूमिका रहेको बताए । भेटवार्ताका क्रममा बेल्जियमकी सभामुख स्टेफिन डी होर्सले नेपाल र बेल्जियम बीचमा धेरै समानताहरू रहेको बताउँदै जलवायु परिर्वतनको असर कम गर्न र मानव अधिकारको प्रबर्द्धन गर्न सहकार्य गर्न सकिने कुरामा जोड दिएकी छन् ।
कोभिडका समयमा नेपालमा सहयोग गरेको स्मरण गर्दै जलवायु परिवर्तनबाट हुने प्राकृतिक विपत्तिका घटना कम गर्न आगामी दिनमा सहयोग गर्दै जाने प्रतिबद्धता पनि उनले जनाएकी छन् ।




प्रतिक्रिया