दुई महिनापछि अर्थमन्त्री र गभर्नरबीच भेटवार्ता, के भयो छलफल ?

दुई महिनापछि अर्थमन्त्री र गभर्नरबीच भेटवार्ता, के भयो छलफल ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- अर्थमन्त्री जनार्दन शर्मासँग नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दुई महिनापछि औपचारिक भेटवार्ता गरेका छन् ।  निलम्बन परेपछि अदालतको आदेशबाट पुनर्बहाली भएका गभर्नर अधिकारीले बुधवार मन्त्रालयमै पुगेर अर्थमन्त्री शर्मासँग भेटवार्ता गरेका हुन् ।

अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर अधिकारीबीच लामो समयदेखि विभिन्न विषयमा मतभेद हुँदै आएको थियो । तर गभर्नर अधिकारी मन्त्रालयमै पुगेर अर्थमन्त्री शर्मासँग भेटवार्ता गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

आज भएको भेटमा राष्ट्र बैंकले तयारी गर्दै गरेको मौद्रिक नीतिका विषयमा छलफल जनाइएको छ । बर्सेनि सरकारले वित्त नीति ल्याएपछि सो नीतिले लिएको आर्थिक वृद्धिदर हासिल गर्न सहयोग पुग्ने गरी मौद्रिक नीति आउने गरेको छ । बजेटले आगामी वर्षको आर्थिक वृद्धिदर ८ प्रतिशत र्पुयाउने र मूल्यवृद्धि ७ प्रतिशतमा सीमित राख्ने लक्ष्य लिएको छ ।

गत चैत २४ गते निलम्बनअघि एउटै कार्यक्रममा सहभागी हुँदा अर्थमन्त्री शर्माले गभर्नर अधिकारीले असहयोग गरेको आरोप लगएका थिए । अर्थमन्त्री शर्माले देशको अर्थतन्त्र संकट तिर जानुमा गभर्नर अधिकारको हात भएको समते दावी गरेका थिए ।

त्यसपछि अर्थमन्त्रालयले गभर्नर अधिकारीमाथि छानबिन गर्न एक समिति गठन गरेको थियो । उक्त समिति गठनपछि राष्ट्र बैंक ऐनअनुसार गभर्नर अधिकारी स्वतः निलम्बनमा परेका थिए । सरकारले गरेको निलम्बनको निर्णयविरुद्ध अधिकारी अदालत पुगे । सर्वोच्च अदालतले वैशाख ६ गते उनको पक्षमा अन्तरिम आदेश दिएपछि अधिकारी काममा फर्किएका हुन् ।