मेलम्ची खानेपानीको काम सिने हाइड्रोलाई दिने तयारी

मेलम्ची खानेपानीको काम सिने हाइड्रोलाई दिने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले मेलम्ची खानेपानीको काम चिनियाँ कम्पनी सिनो हाइड्रोलाई दिने तयारी थालेको छ ।

गत पुस १ गते इटालियन कम्पनी सीएमसी आफैँ समस्यामा परेपछि काम अलपत्र छाडेर भागेको आठ महिनापश्चात् बल्ल सरकारले मेलम्ची खानेपानी आयोजनाको बाँकी कामको ठेक्का सिनोहाइड्रोलाई दिन लागेको हो ।

बोलपत्र आह्वान गर्दा सबभन्दा कम रकममा काम सक्छु भनेकाले उसलाई ठेक्का दिन लागिएको बताइएको छ । अहिले मेलम्चीमा बाँकी रहेको मुख्य कार्य भनेको हेडवर्क्स तथा सुरुङका केही अन्तिम वा फिनिशिङका काम छन् । त्यसका अतिरिक्त काठमाडौं उपत्यकामा पाइपलाइन जडान तथा सुन्दरीजलमा पानी प्रशोधनस्थलको काम पनि जारी नै छ ।

‘हामी बोलपत्र र खरिद प्रक्रियाको अन्तिम अवस्थामा पुगेका छौँ । मूल्याङ्कन र अन्य प्रक्रियापश्चात् अब सम्झौता गर्न आऊ भन्ने भावमा पत्र पठाउँदैछौँ,’ मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले भने ।

नयाँ ठेक्काको लागि बनाइएका कागतपत्रमा सुरु भएको १५ महिनाभित्र हेडवर्क्सको काम सम्पन्न गरिनुपर्ने उल्लेख छ ।