मेलम्ची खानेपानीबारे मन्त्रीले दिएको अभिव्यक्तिप्रति जनप्रतिनिधिको आपत्ति

मेलम्ची खानेपानीबारे मन्त्रीले दिएको अभिव्यक्तिप्रति जनप्रतिनिधिको आपत्ति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मेलम्ची – मेलम्ची खानेपानी विकास समिति र खानेपानी मन्त्रालयले एकातर्फी रुपमा सिन्धुपाल्चोकका जनप्रतिनिधि, स्थानीय तह र सरोकारवाला निकायहरुलाई कुनै जानकारी नदिई पानी पथान्तरण शुरुआत गरेको घटनाप्रति दुःख प्रकट गरेका छन् । आज पत्रकार सम्मेलन गर्दै सरोकारवालासँग कुनै समन्वय नै नगरी मन्त्रालयले गरेको यस्ता हर्कतबारे दुःख प्रकट गरेको हो ।

प्रमुख जिल्ला अधिकारी उमेसकुमार ढकालले आइतबार पानी परीक्षण उद्घाटन गरेका थिए । मन्त्रीले आइतबार गरेको पत्रकार सम्मेलनमा सिन्धुवासीलाई दिएको अभिव्यक्तिबारे पनि ध्यानाकर्षण भएको जनाइएको छ । खानेपानी तथा सरसफाइमन्त्री विना मगरले मेलम्चीको पानी सिन्धुवासीको भए पनि त्यसबारे कुनै सम्बोधन नगरी पानी काठमाडौँ आएको भन्दै मन्त्रालय र खानेपानी विकास समितिलाई मुख्य श्रेय दिएकी थिइन् । उक्त अभिव्यक्ति तुरुन्त सच्याउन माग गर्दै आउँदा दिनमा यसैगरी निर्णय गरे थप समस्या हुने चेतावनी दिइएको छ ।

पत्रकार सम्मेलनमा जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तमाङ मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल, राप्रपा २ न क्षेत्रीय अध्यक्ष फडिन्द्र दाहाल, हेल्मो सिन्धु सामाजिक उत्थान कार्यक्रमका अध्यक्ष उपेन्द्र तामाङ उपाध्यक्ष चिरन तामाङ ईन्द्रवती सरोकार समितिका अध्यक्ष विष्णुमणि आचार्यलगायतले लेबी र स्थानीयको माग पूरा नगरी पानी लगे आन्दोलन गर्ने चेतावनी दिए । लेबी, मजदुर, कर्मचारी र सप्लायर्सहरुको समस्या तथा विकास निर्माण सम्बन्धमा तत्काल निर्णय लिन पनि बैठकले ध्यानाकर्षण गरेको छ ।

हेलम्बु गाउँपालिकाकोे घोर आपत्ति

मेलम्चीको पानी सुरुङबाट काठमाडौँमा पठाउनका लागि सरकारले स्थानीय सरकारसँग कुनै समन्वय र सहकार्य नगरेको भन्दै हेलम्बु गाउँपालिकाले घोर आपत्ति जनाएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै अध्यक्ष निमा ग्याल्जेन शेर्पाले उक्त कार्य अनुचित र गैरजिम्मेवार भएको टिप्पणी गरेका छन् । उनले आगामी दिनमा सहयोगका लागि असहज वातावरण सिर्जना गर्न स्थानीय सरकार र स्थानीयवासी बाध्य हुने तथा यसको सम्पूर्ण जिम्मेवारी उक्त आयोजना र सोसँग सम्बन्धित निकायले व्यहोर्नुपर्ने उल्लेख गरेका छन् ।