क्षतिपूर्ति दिने सम्झौतापछि मेलम्चीको विवाद रोकियो

क्षतिपूर्ति दिने सम्झौतापछि मेलम्चीको विवाद रोकियो


काठमाण्डु — मेलम्चीमा करेण्ट लागेर एक जनाको मृत्यु भएपछि स्थानीयले गरेको प्रदर्शन रोकिएको छ । मेलम्ची नगरपालिका–१० माझी बस्ती तल इन्द्रावती नदीमा आएको बाढीले बिजुलीको खम्बा ढाल्दा करेन्ट लागेर स्थानीयवासी धर्म दुलालको आज बिहान मृत्यु भएको थियो ।

विद्युत प्राधिकरणको लापरवाहीले मृत्यु भएको भन्दै स्थानीय बासिन्दा प्रदर्शनमा उत्रिएका थिए । इलाका प्रहरी कार्यालय, मेलम्चीमा आन्दोलनरत पक्ष, नगरपालिका र प्राधिकरणका प्रतिनिधिबीच भएको सम्झौता पछि प्रदर्शन रोकिएको हो ।

दुवै पक्षबीच सहमति भएपछि प्रदर्शन रोकिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले काठमाण्डुपाटीलाई जानकारी दिए ।

उनले भने, ‘पीडित परिवारलाई प्राधिकरणले क्षतिपुर्ति मार्फत ५ लाख रुपैयाँ उपलब्ध गराउने, घरको कुनै एउटा सदस्यलाई जागिरको व्यवस्था गर्ने र नगरपालिकाले चाँहि उनको बच्चालाई निः शुल्क पढाइदिने सहमति भएकाे छ ।’