मेलम्चीबाट आएको तीन करोड ५० लिटर पानी अझै पूरै बाँडिएन


काठमाण्डु – मेलम्चीको पानी तेस्रोपटक राजधानी आएको आठ दिनसम्म पनि पूरै पानी राजधानीमा वितरण हुन सकेको छैन । मेलम्चीबाट आएको तीन करोड ५० लिटर पानी अझै राजधानीमा वितरण हुन सकेको छैन ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित मेलम्ची खोलाबाट ल्याइएको पानी राजधानीमा वितरण सुरु गरिएको आठ दिन पूरा भएको छ । मङ्सिर १८ गते मेलम्ची खोलाको पूरै अर्थात् १७ करोड ५० लाख लिटर पानी राजधानी आएको थियो । यसको छ दिनपछि अर्थात् मङ्सिर २३ गते शुक्रबारदेखि राजधानीका धारामा तेस्रोपटक मेलम्चीको पानी वितरण सुरु भएको थियो । पानी वितरण सुरु भएको आठ दिनमा पनि पूरै पानी राजधानीवासीलाई वितरण हुन सकेको छैन ।

छ महिनासम्म बन्द रहेको वितरण सञ्जालमा आएको समस्याका कारण पूरै पानी वितरण गर्न नसकिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयुकेएलले जनाएको छ । मेलम्ची खोलाबाट २६ दशमलव पाँच किमी सुरुङमा हाली सुन्दरीजल प्रशोधन केन्द्रमा ल्याइएको १७ करोड ५० लाख लिटरमध्ये हाल १४ करोड लिटर पानीमात्र राजधानीमा वितरण भइरहेको छ ।

केयुकेएल आयोजना कार्यान्वयन निर्देशनालयले निर्माण गरेको नयाँ वितरण सञ्जालमा नियमित पानी नहाल्दा केही ‘भल्व’ मा ‘सिक्वेन्स’ मिलाउन समय लागेको हो । यसका कारण सबै पानी अझै राजधानीमा वितरण हुन सकेको छैन । सत्र करोड ५० लाख लिटर पानी वितरण गर्न अझै केही दिन लाग्ने केयुकेएलका प्रवक्ता प्रकाशकुमार राईले जानकारी दिए ।

मेलम्चीको पानी राजधानीमा वितरणका लागि बनाइएका १० पानी ट्याङ्कीमध्ये हालसम्म नौ वटामा पानी पुगिसकेको छ । हालसम्म बोडेस्थित टिग्नी, कटुञ्जे, खुमलटार, मीनभवन, महाँकालचौर, पानीपोखरी, अनामनगर, बालाजु र बाँसबारीका पानी ट्याङ्कीमा मेलम्चीको पानी पुगेको छ । कीर्तिपुरको ट्याङ्कीमा पानी पुग्न अझै केही दिन लाग्ने उहाँले सुनाउनुभयो । केही दिन भित्रमा मेलम्चीबाट ल्याइएको १७ करोड ५० लाख लिटर पानी नै ग्राहकका धारामा पुग्ने छ ।

मेलम्ची खानेपानी आयोजनाले भने मङ्सिर १८ गतेदेखि नै १७ करोड ५० लाख लिटर पानी राजधानीमा ल्याइसकेको प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए । सुरुङ सफा गरेर मङ्सिर २३ गते शुक्रबारदेखि राजधानीमा खानेपानी वितरण भइरहेको छ । कति ठाउँमा पाइप फुटेका कारण सडकमा पानी जाने समस्या पनि भइरहेको छ । त्यो समस्या समाधान गर्दै पानी वितरण भइरहेको केयुकेएलले जनाएको छ ।

निर्देशनालयले बनाएको नयाँ वितरण सञ्जालका कति स्थानमा अझै पानी परीक्षण हुन सकेको छैन । मेलम्चीको पानी बन्द भएपछि गत असारदेखि पानी परीक्षण पनि रोकिएको थियो । मङ्सिर १८ गतेदेखि नै १७ करोड ५० लाख लिटर पानी मेलम्ची खोलाबाट राजधानी ल्याइए पनि वितरण सञ्जालमा आएको समस्या र कतिपय स्थानमा परीक्षण गर्दै पानी पठाउनुपर्ने भएकाले १४ करोड लिटर पानीमात्र वितरण भइरहेको हो । -रासस

प्रतिक्रिया दिनुहोस
Advertisement