मेलम्ची गेटले थेग्न सकेन पानी

मेलम्ची गेटले थेग्न सकेन पानी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मेलम्ची खानेपानीको सुरुङ परीक्षण गर्दा पानीको दबाब थेग्न नसकेर नटबोल्ट फुत्किएको अध्ययनबाट देखिएको छ । सुरुङमा पानी पठाउँदा एक्कासि पानी खुलेपछि प्रवेशद्वारको नटबोल्ट फिटिङमा गम्भीर त्रुटि भएको हुनसक्ने अनुमान गरिएको छ ।

कुल क्षमताको एक तिहाइ पानीको दबाब गेटले थेग्न नसकेपछि मेलम्चीको पानीको प्रतीक्षा गरेका राजधानीवासीले अझै केही महिना धैर्य गर्नुपर्ने भएको छ । सो घटनापछि पानी पथान्तरणको काम हाल स्थगित भएको छ । हेडबक्स निर्माणको काम भइरहेको तर पथान्तरणको काम अध्ययन समितिले प्रतिवेदन दिएपछि सुरु हुने खानेपानी मन्त्रालयले जनाएको छ ।

प्रवेशद्वारको डिजाइन र प्रवेशद्वार फिटिङमा समस्या रहेको हुनसक्ने अध्ययन समितिको प्रारम्भिक आकलन छ । खानेपानी मन्त्रालयले सहसचिव रमाकान्त दुवाडीको संयोजकत्वमा प्राविधिक तथा इन्जिनियर सहितको अध्ययन समिति बनाएको थियो । समिति स्थलगत अध्ययन गरी फर्किएको छ । समितिका संयोजक दुवाडीले नटबोल्ट फिटिङमा केही समस्या हो कि ? गेट फिटिङ गर्दा राम्रोसँग नकसिएको हो कि भन्ने कुरा छ । हामी दुई-चार दिनमै प्रतिवेदन सार्वजनिक गर्दैछौँ भन्नुभयो ।

सुरुङ भित्रको ५२ मिटर उचाइ सम्मको पानीको दबाब थेग्न सक्ने क्षमताको प्रवेशद्वार जडान गरिएको थियो तर १६ मिटर उचाइको पानीमै प्रवेशद्वार खुल्नु आश्चर्यजनक भएको दुवाडीको भनाइ छ । गेटको क्षमता, गेट जडानको अवस्थाका बारेमा अध्ययन गरिएको छ ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।