मेक्सिकोमा भ्रष्टाचार र हिंसाविरुद्ध हजारौं जेन जी प्रदर्शनमा

मेक्सिकोमा भ्रष्टाचार र हिंसाविरुद्ध हजारौं जेन जी प्रदर्शनमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मेक्सिकोमा हजारौं जेन जीहरूले अपराध, भ्रष्टाचार र दण्डहीनताविरुद्ध देशभर प्रदर्शन गरेका छन् ।

जेन जी युवाहरूले शनिबार अपराध, भ्रष्टाचार र दण्डहीनताविरुद्ध सडकमा उत्रिएका हुन्। उनीहरूलाई विपक्षी दलका पुराना समर्थकहरूले पनि समर्थन गरेका छन् ।

जेन जी प्रदर्शन ५० भन्दा बढी सहरमा फैलिएको जनाइएको छ। ‘जेनजी मेक्सिको’ समूहले गैर–दलीय घोषणापत्र जारी गर्दै हिंसा, भ्रष्टाचार र सत्ताको दुरुपयोगविरुद्ध युवा आक्रोश व्यक्त गरेको छ।

सरकारी अधिकारीहरूका अनुसार प्रदर्शन अधिकांश शान्तिपूर्ण थियो तर केही युवाहरू प्रहरीसँग झडपमा गएपछि तनाव सिर्जना भएको थियो ।

प्रदर्शनकारीहरूले ढुंगा, आतिशबाजी, लाठी र चेनले प्रहरीमाथि आक्रमण गरेका थिए। उनीहरूले राष्ट्रपति क्लाउडिया शेनबाउम बस्ने महलको बाहिरी पर्खाल पनि भत्काइ दिएका छन्।

राजधानीका सुरक्षा सचिव पाब्लो भाज्क्वेजले प्रदर्शनमा १२० जना घाइते भएको बताएका छन्। २० जना प्रदर्शनकारीलाई पक्राउ गरिएको छ ।

यस वर्ष विश्वका धेरै देशहरूमा सन् १९९० को दशकको अन्त्य र सन् २०१० को दशकको सुरुवातमा जन्मेका युवाहरूले ठुलो प्रदर्शन गरेका छन्।

उनीहरूले असमानता, कुशासन र भ्रष्टाचारविरुद्ध विरोध आन्दोलन गरेका छन्। सेप्टेम्बरमा नेपालमा सामाजिक सञ्जाल प्रतिबन्धपछि सबैभन्दा ठुलो जेनजी प्रदर्शन भयो, जसले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्‍यो। विश्वमा भएका सफल जेनजी प्रदर्शनमा नेपालको दुई दिने आन्दोलन उदाहरण बनेको छ।

मेक्सिकोमा युवाहरू भ्रष्टाचार र हिंसात्मक अपराधको दण्डहीनताबाट निराश छन्। उनीहरूले जेनजी विरोधको विश्वव्यापी प्रतीक बनेको समुद्री डाकूको खोपडीको झण्डा बोकेका थिए।

अपराध विरोधी पश्चिमी राज्य मिचोआकानमा लोकप्रिय मेयर कार्लोस मान्जोको हत्यासहित हालैका उच्च ओहदाका मानिसहरूको हत्याले राष्ट्रपति शेनबाउमप्रति जनआक्रोश बढाएको छ। प्रदर्शनअघि शेनबाउमले दक्षिणपन्थी दलहरूलाई जेन जी आन्दोलनमा घुसपैठ गर्ने र सामाजिक सञ्जालमा बट प्रयोग गरेर उपस्थिति बढाउने गरेको आरोप लगाएकी थिइन्।