मुग्लिन-नारायणगढ सडक आज नखुल्ने, यस्तो छ वैकल्पिक मार्ग (फोन नम्बर र सूचनासहित)

मुग्लिन-नारायणगढ सडक आज नखुल्ने, यस्तो छ वैकल्पिक मार्ग (फोन नम्बर र सूचनासहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– चितवनको तुइनखोलामा खसेको ठूलो सुक्खा पहिरोका कारण मुग्लिन–नारायणगढ सडक पूर्ण रूपमा बन्द छ

मंगलबार दिउँसोदेखि नै सडक बन्द भएकोमा बेलुका थप पहिरो खसेपछि यो सडक खुलाउन समय लाग्ने भएको छ । सडक तत्काल नखुल्ने भएकाले जिल्ला प्रशासन कार्यालय चितवनले वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ ।

वैकल्पिक सडकका रूपमा महोत्तरीको बर्दिवास, मकवानपुरको हेटौंडा, रुपन्देहीको बुटवल, नवलपरासी बर्दघाट सुस्ता पूर्वको कावासोती र गैंडाकोट, धादिङको नौबिसे तथा तनहुँको हकमा खैरेनीटारबाट वैकल्पिक मार्ग प्रयोग गर्न चितवन प्रशासनले अनुरोध गरेको हो ।

चितवनबाट काठमाण्डु आउजाउ गर्नका लागि (साना गाडी मात्रै) चितवनको जुटपानी, शक्तिखोर, मायाटार हुँदै धादिङको मलेखु निस्कने वैकल्पिक सडक प्रयोग गर्न सकिनेछ ।

त्यस्तै धादिङको नौबिसेबाट मकवानपुरको हेटौंडा निस्कने त्रिभुवन राजपथको बाटोलाई वैकल्पिक सडकको रूपमा प्रयोग गर्न सकिने प्रशासनले जनाएको छ ।

यस्तै मकवानपुरको हेटौंडाबाट भैंसे, भीमफेदी, कुलेखानी, सिस्नेरी हुँदै दक्षिणकालीको बाटो भएर काठमाण्डु पुग्न सकिन्छ । हेटौंडा–काठमाण्डु आउजाउ (ठूला गाडी मात्र) का लागि कान्ति लोकपथ प्रयोग गर्न सकिनेछ । चितवनबाट पोखरा जानका लागि ठूला तथा साना दुवै गाडीले बुटवल हुँदै पोखरा जान सक्नेछन् ।

यसैगरी चितवनबाट कालीगण्डकी करिडोरको बाटो (सानो गाडी मात्रै) गैंडाकोट भिमाद हुँदै तनहुँ निस्कन सकिनेछ ।
यस्तै मुग्लिन–नारायणगढ सडकको विकल्पमा तनहुँको खैरेनीटार हुँदै डेढगाउँ निस्कने मार्ग प्रयोग गर्न सकिन्छ । यो सडकलाई गण्डकी प्रदेश सरकारले गौरवको योजनाको रुपमा राखेको छ । मुस्ताङदेखि तराइ जोड्ने गरी यो सडक प्रदेश सरकारले निर्माण गरिरहेको छ ।

साना सवारीसाधनका लागि यो सडक उपयुक्त छ । त्यसका लागि दमौली–खैरेनीटारबाट बायाँतर्फबाट भीमाद–मानपुर हुँदै डेढगाउँ–वुलिङटार–ढोडेनी–गैँडाकोट पुग्न सकिन्छ।

मुग्लिनदेखि खैरनीटारसम्म ७० किमि दूरी छ । खैरेनीटार–भीमाद कालोपत्र सडक सात किलोमिटर र भीमाद–मानपुर कच्चीसडक ३५ किलोमिटर छ । मानपुर–डेढगाउँ कालोपत्रे ९४० किमि०, डेढगाउँदेखि नारायणगढ ७० किमी रहेको छ ।

यस सम्बन्धमा आवश्यक सूचना तथा जानकारीको लागि जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनाल (मोबाइल नम्बर ९८५५०१३९९९, जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी मदन लामा थिङ मोबाइल नम्बर ९८५५०९२२०० र सडक डिभिजन भरतपुरका सूचना अधिकारी कृष्णप्रसाद आचार्य मोबाइल नम्बर९८५५०९२२१८) लाई सम्पर्क गर्न समेत कार्यालयले अनुरोध गरेको छ ।

मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुइनखोलामा पहिरो खस्दा केही दिनयता दैनिकजसो यात्रु र चालकले सास्ती भोगिरहेका छन् । निरन्तर ढुङ्गा खसिरहेकाले सडकमा नियमित गाडी चल्न समस्या छ ।

बाटो खुलाउन बुधबार बिहानदेखि प्रयास थालेपनि समय लाग्ने सडक डिभिजन कार्यालय भरतपुर चितवनले जनाएको छ ।