मिलनको बयान : दसैंमै बुवा–आमालाई मार्न खोजेको थिएँ तर वातावरण नै मिलेन

मिलनको बयान : दसैंमै बुवा–आमालाई मार्न खोजेको थिएँ तर वातावरण नै मिलेन


काठमाण्डु– भक्तपुरको बालकोटमा बाबु र भाइ हत्याका आरोपित मिलन आचार्यले पछिल्लो समय आफू तनावमा रहेको बयान दिएका छन्।

उनले लोकसेवा परीक्षाका लागि तयारी गर्न काठमाडौँ बसिरहेको र पटकपटक परीक्षा दिए पनि असफल भएपछि नतावमा रहेको प्रहरीसँग बताएका हुन्।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ का मिलनले ५६ वर्षीय बाबु कुलप्रसाद आचार्य र २२ वर्षका भाइ प्रवीणको हत्या गरेको स्वीकार गरेका छन्। उनले तनावकै कारण बाबु र भाइको हत्यापछि आफू पनि आत्महत्या गर्ने सोच आएको बयान मंगलबार बिहान महाराजगन्ज प्रहरी वृत्तमा बताएका हुन्।

उनले गत दसैंमा बुबा आमा दुवैलाई मार्ने योजना बनाए पनि असफल भएको समेत बताएका छन् ।

यस्तो छ उनको बयान

लोकसेवामा ६, ७ पटक फेल भएपछि म जिन्दगीसँग दिक्दार भएँ । मलाई डिप्रेसन भयो । लगालग लोकसेवा बिग्रेपछि अब जिन्दगीमा केही नहुने भयो भनेर बिरक्तिएँ । म बाच्दिनँ भन्ने लाग्यो ।

बुबा पनि डिप्रेसनको बिरामी । एकचोटि आत्महत्या प्रयास गर्नुभएको थियो । म नबाँचेपछि परिवारका अरु कसरी बाँच्लान् भन्ने लाग्यो । त्यसैले मभन्दा पहिला बुबाआमा मर्नुपर्छ भन्ने ठानेँ । दशैंमा गाउँ गएको बेला मार्ने प्रयास गरेको थिएँ । तर वातावरण मिलेन ।

अहिले बुवा उपचार गर्न आएको बेला ‘उपयुक्त’ मौका छोपेँ । हामी सबैले न्याय र मुक्ति पाउने भयौं भन्ने लागेर बुवा र भाइलाई मारेँ ।

हत्यापछि म भक्तपुरकै बिरुवा गएँ । गलबन्दीको पासो लगाएर रुखमा झुण्डिएँ । तर गलबन्दीको गाँठो फुस्कियो । भगवानले मलाई ‘नमर’ भनेजस्तो लाग्यो । बुवा र भाइ मरेपछि मैले आमाको रेखदेख गर्नुपर्छ भन्ने सोचेँ ।

त्यहाँबाट म भक्तपुर दरबार स्क्वायर गएर दिनभरि बसेँ । साँझ परेपछि चावहिलको सगरमाथा होटलमा कोठा लिएर बसेँ । त्यहाँ दुई रात बसेपछि आज बिहान पत्रिकामा समाचार देखेँ । त्यो पत्रिका बोकेर कोटेश्वरतिर गएँ । तर, त्यहाँ पुग्दा गल्ती ठाउँमा पुग्दैछु जस्तो लागेर गाडीबाट ओर्लिएँ । महाराजगञ्जको गाडी चढेँ । महाराजगञ्जको पुलिस अफिसको सरलाई पत्रिका देखाएर ‘यो मै हो’ भनेँ ।