काठमाण्डु – विवेकशील साझा पार्टीका नेता मिलन पाण्डेले नेकपा माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक दस्तावेजमा पुरानै विश्लेषण समेटिएको टिप्पणी गरेका छन् ।
बिहीबार बिहान सामाजिक सञ्जालमार्फत नेता पाण्डेले माओवादी केन्द्रका ८ औं महाधिवेशनमा प्रस्तुत गरेको दस्तावेज पुरानै ढर्र्राको भएको उल्लेख गरेका हुन् । उनले दस्ताबेजले भविष्य देखाउन असफल भएको र नयाँ पुस्तालाई प्रतिनिधित्व गर्ने र आशा जगाउने विचार नभएको उल्लेख गरेका छन् ।
‘प्रचण्डको दस्ताबेजमा केहि राप–ताप छैन् । विगत छ, पुरानै विश्लेषण छ तर भविष्य देखाउन दस्ताबेज असफल भएको छ । नयाँ पुस्तालाई प्रतिनिधित्व गर्ने र आशा जगाउने विचार छैन,’ नेता पाण्डेले भनेका छन्, ‘उद्यमशील समाज निर्माण गर्न पार्टीको नेता–कार्यकर्ताले उत्पादनमा खट्ने भन्ने कार्यक्रम लागु गर्न सके राम्रो हुन्छ। तर, यो लागु हुनेमा शङ्का छ।’
उनले अध्यक्ष प्रचण्डको दस्ताबेज १९ औँ शताब्दीमा अल्झिएको र उनी पार्टीमा अभिभावक भएर बस्नुपर्ने बताएका छन् ।
‘विज्ञान भनेकै गतिको नियम हो भन्ने बुझाइमै हामी अल्झियौँ । विज्ञान कहाँ पुगिसक्यो, हामी चालको नियमबाट अपडेट हुन सकेको छैन । प्रचण्डजीको दस्ताबेज पनि १९ औँ शताब्दीमै अल्झिएको छ,’ उनले भनेका छन्, ‘उहाँले ३५ वर्ष पार्टी हाकी सक्नुभयो । अब उहाँ अभिभावक भएर बस्नुपर्छ । त्यसमै उहाँको र उहाँको पार्टीको भलाइ देखिन्छ ।
महाधिवेशनको शुभकामना ।’




प्रतिक्रिया