पोखरा – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा मिलेन्द्र रिजालले कम्युनिष्ट शासनले मुलुकलाई उल्टो बाटोमा लगेको बताएका छन् ।
कास्की–२ को उपनिर्वाचनमा पार्टीको चुनावी कमाण्डर बनेर पोखरा आएका नेता रिजालले सरकार संविधानलाई भत्काउने, दक्षिणपंथी र उत्तर वामपन्थीको उर्वरभूमि बनाउन उद्धत रहेको आरोप लगाए ।
चुनाव प्रचार कार्यक्रम अन्तर्गत मंगलबार पोखरा–१७ मा घरदैलो अभियानमा सहभागी नेता रिजालले कम्युनिष्टको यस्तै रवैयाले जनता आजित र निराश भएको दावी गरे । नेपालको नयाँ संविधान लोकतान्त्रिक संविधान हो, कम्युनिष्ट संविधान नभएको भन्दै नेता रिजालले सरकार पनि लोकतान्त्रिक पद्धति अनुसार नै अघि बढ्नुपर्ने स्पष्ट पारे ।
उनले आम जनतामा छाएको निराशालाई उत्साहमा परिणत गर्न कांग्रेसले निर्वाचन जित्नै पर्ने बताए । त्यागी नेता खेमराज पौडेललाई चुनाव जिताएर देशैभर सन्देश दिन आवश्यक रहेको भन्दै रिजालले जनताले पनि कम्युनिष्टलाई मन पराउन छाडेको दावी गरे ।
‘मुलुकमा जसरी भ्रष्टाचार बढेको छ, जसरी विकास निर्माणका काम अवरुद्ध छन्, मुलुकको हित विपरितको गतिविधि भएका छन् त्यसलाई रोक्न कास्की–२ का जनताले नेतृत्व गर्नुपर्छ’, उनले भने ।




प्रतिक्रिया