काठमाडौं – प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डाक्टर मिनेन्द्र रिजालले कुनै आधार विना हचुवाका भरमा बजेट प्रस्ताव गरिएको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा आगामी आर्थिक वर्ष २०७६–७७ को राजश्व र व्ययको वार्षिक अनुमान अर्थात् बजेट माथिको छलफलमा सहभागी हुँदै सांसद रिजालले गएको वर्षको बजेटमा भनिए अनुसार राष्ट्रिय गौरवका आयोजनामा खर्च हुन नसकेको भन्दै कुनै आधार विना हचुवाका भरमा बजेट प्रस्ताव गएिको आरोप लगाए । उनले शक्तिशाली सरकारले ल्याएको बजेटले सरकारको सम्मृद्धिको लक्ष्य हासिल हुन नसक्ने पनि दाबी गरे ।
चालु खर्च पूरा हुने आधारहरु बजेटमा नदेखिएको तथा आयातमा आधारित राजश्वको सतहमा गुलियो लगाएर वितरणमुखी कार्यक्रम बाँड्ने काम भएको तर्क उनले गरे । बजेटमा पूँजीगत खर्च बढाउने क्षमता प्रस्ताव नगरिएको भन्दै उनले स्थानीय र प्रदेश सरकारको पूँजीगत खर्च नबढेसम्म आर्थिक विकास नहुने बताए ।
बजेट पूर्वाधार विकास कोष, संघीयताको मर्म र भावना विपरित भएको टिप्पणी उनले गरे । उनले भने, ‘प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा खर्च हुने आधी रकम मात्रै सरकारले मेरो निर्वाचन क्षेत्रमा खर्च गर्ने हो भने मलाई पूर्वाधार विकास कोष चाहिँदैन । तर अर्थमन्त्री ज्यू त्यही हुन्छ ? एउटा दूरदराजको सामान्य सांसदको निर्वाचन क्षेत्रमा हुने खर्च र बलशालीको निर्वाचन क्षेत्रमा खर्च हुने रकम एकपल्ट देखाइदिनोस् । त्यो देखाउने हो भने प्रतिपक्षीका मात्रै होइन सत्ताका सांसदले पनि पूर्वाधार विकास कोष माग्दैनन् ।’




प्रतिक्रिया