काठमाण्डौं – नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले राजनीतिक पूर्वाग्रहबाट माथि उठ्न सरकारलाई सुझाव दिएका छन् ।
प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा सरकारको आगामी बर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सहभागी हँुदै उनले बजेट तर्जुमा गर्दा राजनीतिक पूर्वाग्रहबाट माथि उठेर सिद्धान्त र प्राथमिकता निर्धारण गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
बामपक्षीय आधारमा आउने बजेटले समग्ररुपमा मुलुकको विकास गर्न नसक्ने भन्दै उनले संसोधन गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराए । विगतमा जस्तै अहिले पनि राजनीति र दलीय भावनाले सिद्धान्त र प्राथमिकतालाई धकेल्ने काम भएको टिप्पणी उनले गरे । विगतमा योजना गए पनि बजेट नपठाउने काम भएको भन्दै उनले राजनीतिबाट माथि उठेर सिद्धान्त र प्राथमिकता निर्धारण नभएसम्म विकास र सम्मृद्धि संभव नभएको तर्क गरे ।
भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्ने सरकारका अगाडि दैनिक भ्रष्टाचारका घटना सार्वजनिक भईरहेको भन्दै उनले व्यंग्य गरे । सरकारले पछिल्लो समय ल्याएको मानवअधिकार आयोग सम्बन्धी विधेयक लगायतका विधेयकहरुमा गरिएको व्यवस्था तथा सूचना प्रविधि नियन्त्रण गर्ने, मिडियालाई नियन्त्रित गर्ने र राष्ट्रिय प्राथमिकताका योजना भनेर सबै खर्च केन्द्रीकृत गर्ने बाटोबाट विदेशी लगानी पनि आउदैन स्वदेशी लगानी पनि नबढ्ने दाबी गरे ।
बिप्रेषणको आम्दानीलाई जनताको पक्षमा प्रयोग गर्नका लागि सरकारले स्पष्ट आयोजना ल्याउन नसकेको तर्क गरे । सरकारले चालु आर्थिक वर्षलाई आधार वर्ष बनाउने भने पनि इतिहास रच्ने र तीब्र विकास गर्ने वर्ष बनाउने ढंगको सिद्धान्त र प्राथमिकता नआएको टिप्पणी उनले गरे ।
आन्तरिक ऋण उठाउने कुरा बाहिर आएको भन्दै उनले आन्तरिक ऋण के का लागि भन्ने बारे अर्थमन्त्रीले संसदलाई जानकारी गराउनुपर्ने माग गरे ।




प्रतिक्रिया