लगानी सम्मेलन अघि नै मन्त्रीबाट हट्ने मात्रिका यादवको संकेत (भावुक मन्तव्यको पूर्णपाठसहित)


काठमाडौं– मन्त्रिपरिषद् हेरफेरको चर्चा भइरहेका बेला उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले आफू मन्त्रीबाट हट्ने संकेत गरेका छन्।

अन्तर्राष्ट्रिय उपभोक्ता अधिकार दिवसको अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री यादवले आफू लगानी सम्मेलनसम्म मन्त्री पदमा नबस्ने संकेत गरेका हुन् । लगानी सम्मेलन चैत १५ र १६ गते काठमाडौंमा आयोजना हुँदैछ ।

‘मेरो एउटै आग्रह के छ भने, आज म एकदमै भावुक छु, हेर्नुस् । हामी सबै मिलौं । म भन्ने देखाइदिनुस् । आफू भित्रको ममा यस्तो छ भन्ने पनि देखाइदिनुस् । कहाँ–कहाँ के क्षमता छ, देखाइदिनुस्,’ उनले भने,‘ हामीभित्र कहाँ– कहाँ शंका छ, के छ त्यो हटाऔं । रूपान्तरण हौं र बहस गरौं । मैले निजी सचिवज्यूलाई भनिसक्या छु । लगानी सम्मेलनपछि म मन्त्री भएपनि नभएपनि हामी एउटा वृहत भेला गरौं ।’

उनले अगाडि भने, ‘म मन्त्री भएर मात्रै होइन । आज मन्त्री छु । मन्त्री सधैँ त रही रहँदैन । मन्त्री त पर्मानेन्ट जागिर होइन । मन्त्रीहरूको हल्ला भयो यो जाँदै छ भनेर भने कुनै हाकिमले टेर्दैन हेर्नुस् । सांसद त रहन्छु नि त । चार वर्ष त अझै छ । म त सांसदै भएर पनि धेरै काम गर्थें जस्तो लाग्छ । मन्त्री भएपछि सबै चीज बोल्न पनि नपाइने, गाह्रो हुन्छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यसम्पादन सन्तोषजनक नभएका मन्त्री हटाउने तयारी थालेकासँगै मात्रिका आफैंले यस्तो बताएका हुन् । मन्त्रिपरिषद् हेरफेरबारे प्रधानमन्त्री ओलीसँग छलफल भएको नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यसअघि सार्वजनिक गरिसकेका छन्।

यस्ताे छ मन्त्री यादवकाे मन्तव्यकाे सम्पादीत अंश

हाम्रा कर्मचारीहरू थुनिएका थिए, कालिमाटी तरकारी बजारमा । प्रहरीलाई भन्छु, गएको छैन हेर्नुस् । मतलब नै छैन । डीजीसावलाई पठाएँ । सबै कर्मचारीलाई पठाएँ । आफ्नो निजी सचिवालयलाई पठाएँ । सचिवलाई भनें– ‘तयार हुनुस् त म पनि आउँदै छु । भन्दिनूस् सीडीओसापलाई म पनि आउँछु भनेर । अनि खुरुखुरु सबै गए । तुरुन्तै मान्छे पनि समातियो । स्थिति कस्तो छ के ! त्यसैले मैले भनें नि, एउटा तेल कम्पनीमा गएँ विरगञ्ज निम्बसमा । त्यसमा पनि कति नेतालाई ठूलो चोट लाग्न थाल्यो । ठूल्ठूला नेतालाई चोट लाग्न थाल्यो । हामीले चाहिँ कसरी अगाडि बढ्ने के ?

आलोचना त गर्नुस् । म तपाईंका आलोचना गर्छु, तपाईं मेरो अलोचना गर्नुस्, तर मेरो अवस्था पनि बुझिदिनुपर्‍यो । तपाईंहरूको कुरा पनि हामीले बुझिदिनुपर्ने हुन्छ । मैले त भनें– तपाईंहरू जानुस्, अुनगमन गर्नुस् । कसले रोकेको छ भनेर मैले भनें नि त । हाम्रा कर्मचारीलाई त घेरेर कुट्छन भने ! बेलाबेलामा त्यो पनि भएको छ नि त । त्यो कसरी हामीले गर्ने ?

स्वतः अनुगमन त रामराज आएपछि मात्रै हुन्छ के, त्रेता युगमा । अहिलेको यो त कलियुग हो । म त्यसमा विश्वास गर्ने मान्छे त होइन तर कलियुग भन्छन् नि त । स्वतः त रामराज आएपछि मात्रै हुन्छ । मैले सुन्या हिसाबले, मैले देखेको त हैन । स्वतः अुनगमन त हुँदै हुँदैन ।

स्वतः अुनगमका लागि त राज्य नै चाँहिदैन । राज्य किन चाहिएको छ, बदमासी गर्नेलाई तह लगाउनलाई । जब राज्य नै बदमासी गर्नेलाई संरक्षण गर्छ भने अपराध हुन्छ । राज्य पनि दुई किसिमको हुन्छ, एउटा अपराधीहरूको राज्य हुन्छ, एउटा अपराधको विरुद्धमा राज्य हुन्छ । सबै राज्य चाहिँ अपराधीको विरुद्धमा हुँदैन । त्यसैले हामी सबै मिलौं, छलफल गरौं ।

म मन्त्री भएर मात्रै होइन । आज मन्त्री छु । मन्त्री सधैँ त रहिरहँदैन । मन्त्री त पर्मानेन्ट जागिर होइन । बरु उहाँहरूको पर्मानेन्ट जागिर हो । मन्त्रीहरूको हल्ला भयो यो जाँदैछ भनेर भने कुनै हाकिमले टेर्दैन हेर्नुस् । हामी त महिनामा दुईचोटि, तीनचोटि यो जाँदैछ भन्ने हल्ला चल्छ, हेर्नुस् । त्यस्तो अवस्था पनि छ । त्यसैले गर्दाखेरी हामी मिलौं । तर म त नागरिक त रहन्छु नि त । जनताले दिएको त छ नि त । सांसद त रहन्छु नि त । चार वर्ष त अझै छ ।

कुनैकुनै बेला त मलाई के लाग्छ भने– म त सांसदै भएर पनि धेरै काम गर्थें जस्तो लाग्छ । मन्त्री भएपछि सबै चीज बोल्न पनि नपाइने, गाह्रो हुन्छ ।

तपाईंहरूले हेर्नुभएको होला पहिलेको मातृका अब छैन क्या । पहिलेको मात्रै अब छैन । तर एउटा कुरो अहिलेसम्म कतै गडबड गरेको छैन । कतै गडबड गरेको पाउनुभयो भने म सजाय भोग्न तयार छु । कुनै ठाउँमा गडबड गरेको देखाइदिनुस्, म सजाय भोग्न तयार छु । गर्न नसकेको हो म स्वीकार गर्छु, तर गडबड मैले कतै गरेको छैन । बरु मर्न तयार हुन्छु, तर म गडबड गर्ने मान्छे होइन । तपाईंलाई मेरो हिस्ट्री थाहा छ ।

म आफैँ बनेको होइन । म जे छु, त्यसमा धेरै जनताको लगानी छ । धेरै ट्रस्ट गरेर आफ्नो ज्यान गुमाएर पनि मलाई बचाएको हो । त्यत्तिकै म आज तपाईंहरूको बीचमा उभिएको छैन ।

आज उपभोक्ता दिवस हो । आम जनताको दिवस हो । नेपालमा आज पनि बजारमा सरकार छ भन्ने अनुभूति छैन । म मन्त्री छु, सरकार बजारमा छैन । कति पीडादायी विषय हो यो । त्यसमा पनि कम्युनिस्ट पार्टीको नेता मन्त्री छ । अरू भए त यिनीहरू यस्तै हुन् भनेर हामी भन्थ्यौं नि नातावाद, कृपावाद यस्तोमा जान्छ भनेर । आरोप लगाउन त सजिलो भइहाल्छ नि ।

मेरो एउटै आग्रह के छ भने, आज म एकदमै भावुक छु, हेर्नुस् । हामी सबै मिलौं । म भन्ने देखइदिनुस् । आफू भित्रको ममा यस्तो छ भन्ने पनि देखाइदिनुस् । कहाँ–कहाँ के क्षमता छ, देखाइदिनुस् ।

हामीभित्र कहाँ– कहाँ शंका छ, के छ त्यो हटाऔं । रूपान्तरण हौं र बहस गरौं । मैले निजी सचिवज्यूलाई भनिसक्या छु । लगानी सम्मेलनपछि म मन्त्री भएपनि नभएपनि हामी एउटा वृहत भेला गरौं । सबै पक्षको साथीहरू बसेर वृहत भेला गरौं । हामी एक दिन नास्ता नखाएर पनि बस्न सक्छौं । घरबाटै खाएर आएर पनि बस्न सकिन्छ । एउटा हल मागेर पनि । म मन्त्री भयो भने हाम्रो मन्त्रालयको छँदैछ । म नभएपनि माग्न त सकिन्छ नि ।

प्रतिक्रिया दिनुहोस
Advertisement