पालिका केन्द्र र बस्ती विकासका लागि सबै सहयोग गर्न तयार छौं : मन्त्री देवकोटा

पालिका केन्द्र र बस्ती विकासका लागि सबै सहयोग गर्न तयार छौं : मन्त्री देवकोटा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बागमती प्रदेशस्थित भौतिक पूर्वाधार विकास मन्त्रालयको आयोजनामा पालिका केन्द्र–बस्ती विकास आयोजना उपर अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

काठमाण्डुमा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका विभिन्न पालिकाका प्रमुख तथा अध्यक्षहरूले पालिका केन्द्र र बस्ती विकासका विषयमा धारणा राखेका थिए ।

बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटाको उपस्थितिमा भएको कार्यक्रममा आयोजना, बजेट व्यवस्थापन, विकासका चुनौती लगायतका विषयमा छलफल भएको थियो ।

मन्त्री देवकोटोले बस्ती विकासको कार्यविधि बनाउन नै चुनौती रहेको बताए । पालिकाहरूलाई मन्त्रालयको तर्फबाट कार्यविधि बनाउन सबै सहयोग प्रदान गर्ने बताउँदै उनले कार्यविधि औचित्यका आधारमा बनाउनुपर्नेमा जोड दिए ।

उनले भने, ‘आवश्यकताअनुसार १ वर्षीय र बहुवर्षीय योजना बनाउनुपर्छ । भएका विकृति विसंगति कम गर्दै सुधार गर्दै जानुपर्छ । बस्ती विकासमा पालिकाको भूमिका नै महत्त्वपूर्ण हुन्छ ।’

मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्ठाले अहिले शहर बनिसकेका ठाउँलाई व्यवस्थित र सुधार गर्दै शहर नबनेका ठाउँका लागि अहिले नै योजना बनाएर अघि बढ्नुपर्ने बताए । जे–जे पूर्वाधारको अभाव छ, त्यो निर्माण गर्नतर्फ केन्द्रित हुनुपर्ने उनको सुझाव छ ।

‘बनाएका योजना दराजमा धन्क्याएर हुँदैन । कार्यान्वयन गरिहाल्नुपर्छ । बस्ती विकासका सवालमा हामी असफल भएका छौं,’ उनले भने ।

दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले फोहोर व्यवस्थापनको सवालमा धारणा राखे । आफ्नो नगरपालिकामा फोहोर व्यवस्थापनका लागि उचित ठाउँ प्रशस्तै भएकाले अन्य पालिकालाई पनि सहयोग गर्न तयार रहेको उनले स्पष्ट पारेका छन् ।

उनले भने, ‘उचित ठाउँ हेरेर छलफल गरौं । सरसफाइका लागि स्थानीयलाई पनि स्पष्ट पार्नुपर्छ । विज्ञहरूसँग पनि छलफल गरेर फोहोर व्यवस्थापनको दीर्घकालीन उपाय खोज्न सकिन्छ । यसका लागि दक्षिणकाली नगरपालिकामै सबै बसेर छलफल गरौं भन्ने प्रस्ताव राख्दछु ।’

इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले स्थानीय तहमा कनिका छराइको बजेटले कुनै उपलब्धि नहुने स्पष्ट पारे । आफूले अध्यक्ष जितेर आएपछि ३ वर्ष भइसक्दा पनि उचित बजेटको अभावमा ठोस र मूर्त काम देखाउन नसकेको उनको स्वीकारोक्ति छ ।

उनले भने, ‘स्थानीय स्रोतसाधन छैन, संघीय समानीकरण र राजस्व बाँडफाँटको भरमा के नै गर्न सकिन्छ र ?’

धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले भूकम्पपछि त्रिपुरासुन्दरी गाउँपालिकामा बस्ती विकासको योजना बने पनि प्रभावकारी बन्न नसकेको बताए । उनले भने, ‘देशकै ठूलो टार छ, भूगोल ठूलो छ तर भूकम्पपछि उचित नीति बन्न नसक्दा भवन निर्माण अस्तव्यस्त छ ।’

रामेछापको खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले गाउँमा मान्छे बस्नै छाडेको भन्दै चिन्ता व्यक्त गरे । अव्यवस्थित बसोबासका कारण गाउँहरू संकटमा परेको उनको भनाइ छ ।

‘घरघरमा सडक होइन, सडकमा बस्ती बसाल्नुपर्छ । बस्नयोग्य जमिन पहिचान गर्नुपर्छ । विद्यालय र स्वास्थ्य केन्द्र पनि खाली हुन थालिसके । मानिसलाई शहर जानबाट रोक्न गाउँमै सुरक्षित आवास निर्माणमा ध्यान दिनुपर्छ । एकीकृत आवासको सिद्धान्तसँग जोडेर योजना बनाउनुपर्छ । टुक्रे योजना बनाउने काम रोक्नुपर्छ,’ श्रेष्ठको भनाइ छ ।

ललितपुरको कोन्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले काठमाण्डु उपत्यका भरिन लागिसकेको उल्लेख गर्दै अब बस्तीको अभाव हुनेतर्फ ध्यानाकर्षण गराए । आफ्नो गाउँपालिका शहरबाट टाढा भए पनि काठमाण्डु उपत्यकामा ठाउँ नहुँदा बस्ती बढिरहेको उल्लेख गरेका छन् ।

उनले भने, ‘बस्ती यति धेरै विस्तार भयो कि अब शहरी क्षेत्रमा बस्ने ठाउँ पाउनै मुस्किल छ । त्यसपछि सबै जना यही कोन्ज्योसोम गाउँपालिकामा आउनुपर्छ । अहिले नै जग्गाहरू टुक्रिन थालिसके ।’

कार्यक्रममा इन्जिनीयर भुपेन्द्रकुमार यादवले विषयवस्तु प्रस्तुत गरेका थिए । इन्जिनीयर सुवोध अधिकारीले कार्यक्रमको उद्देश्य र स्वागत मन्तव्य राखेका छन् ।