पत्रकारिता क्षेत्रका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री शर्मा

पत्रकारिता क्षेत्रका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भएका कानुनको प्रभावकारी कार्यान्वयन, असान्दर्भिक कानुनको पुनरावलोकन, आवश्यक कानुन निर्माण र सोहीअनुरुप कार्यक्रम तर्जुमा गरी पत्रकारिता क्षेत्रका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन्।

आठौँ राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै आमसञ्चारका माध्यमहरुलाई राष्ट्रिय उद्योग सरह मान्यता दिने, विज्ञापन नियमन गर्ने ऐनले निर्दिष्ट गरेका एकद्वार र समानुपातिक प्रणालीलाई व्यवस्थित गर्न नियमावली बनाउनेलगायत काम भइरहेको र अन्य केही महत्वपूर्ण कानुन निर्माणको चरणमा रहेको जानकारीसमेत दिइन् ।

सरकारका प्रवक्ता शर्माले भनिन्, ‘पत्रकारिता क्षेत्रको विकासका लागि सरकारले धेरै काम गर्नु पर्नेछ, भूकम्प, कोरोनाजस्ता शृङ्खलाबद्ध प्रकोपका कारण सिर्जित आर्थिक समस्याले मिडिया क्षेत्र प्रभावित छ, सञ्चार संस्थाको सवलीकरण र श्रमजीवी पत्रकारको भौतिक तथा पेशागत सुरक्षाप्रति सरकार गम्भीर छ । नेपाली पत्रकारिता क्षेत्रले ठूलो फड्को मारेको छ ।’

संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रता सुनिश्चित गरिएपछि पत्रकारिताको विकास र प्रेस स्वतन्त्रता हक कसैले खोस्न नसक्ने गरी स्थापित भइसकेको बताउँदै मन्त्री शर्माले कानुन निर्माण वा अन्य कुनै पनि सवालमा प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने गतिविधि हुन नदिन सरकार प्रतिबद्ध रहेको प्रष्ट पारिन्।

उनले भनिन्, ‘यो हाम्रा लागि गौरवको दिन हो । झण्डै सवा सय वर्ष लामो नेपाली पत्रकारिताको समीक्षा गर्दै आजको दायित्वबारे छलफल गर्ने यो महत्वपूर्ण अवसर पनि हो ।’ राजनीतिक उपलब्धिलाई संस्थागत गर्ने र यसमार्फत जनताको जीवनस्तरमा रुपान्तरण ल्याउनु राजनीति र पत्रकारिता दुवै क्षेत्रको साझा दायित्व बन्न पुगेको उनको भनाइ छ ।

मन्त्री शर्माले समाजमा बढ्दै गएको नकारात्मकताको प्रवृत्तिलाई न्यून गर्न सहीलाई सही र गलतलाई गलत भन्ने समाचालोचनात्मक चेतको विकास गर्दै विभिन्न क्षेत्रमा भइरहेका सकारात्मक प्रयासलाई रोडमोडलका रुपमा प्रस्तुत गरी नकारात्मक पक्षलाई सुधार्ने र सकारात्मक पक्षलाई समाजको मूल धार बनाउने प्रवृत्तिको विकास गर्न पत्रकारिता क्षेत्रले थप योगदान गर्ने अपेक्षासमेत गरिन्।

उनले भनिन्, ‘पत्रकारिताका माध्यमबाट समाज रुपान्तरणको अभियानमा लाग्दै गर्दा आफ्नो अमूल्य जीवन बलिदान गर्नुभएका सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइते, अपाङ्गलगायत पत्रकारिता क्षेत्रको विकासमा योगदान गर्नेप्रति उच्च सम्मान प्रकट गर्दछु, आठौँ राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा पत्रकारिता क्षेत्रलगायत सबैमा पुनःशुभकामना दिन चाहन्छु ।’