काठमाण्डु – जेनजी आन्दोलनका अभियन्ता मिराज ढुंगानाले जेनजी आन्दोलनलाई निर्वाचनको लागि नारा र औजारको रूपमा प्रयोग गरिएको बताएका छन् ।
बुधबार जेनजी विद्रोहपछिको बृहत् अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले ७६ जनाको बलिदान, जलेको सिंहदरबार र न्यायालय सबै निर्वाचनको लागि नारा जस्तो भएको भन्दै यसरी देशले निकास नपाउने बताए ।
आन्दोलन धेरै भए, निर्वाचन पनि धेरै भए तर देशले निकास भने कहिले पनि नपाएको उनको भनाइ छ । उनले भने, ‘देश निर्वाचनतर्फ जाँदैछ । यो आन्दोलनलाई चुनावी हतियार, नारा र औजार बनाएर म यो आन्दोलनको अपनत्व लिन्छु भन्दै हिनेको देखिन्छ । ७६ जनाको बलिदान, देशको सिंहदरबार जलेको, न्यायालय जलेको यी सबै निर्वाचनको लागि नारा जस्तो भए तर निकास कहिले पाउने त देशले, आन्दोलन धेरै भए नभएका होइनन् । निर्वाचन पनि धेरै भए तर देशले निकास कहिले पनि पाएको छैन ।’
उनले निर्वाचनले बदलाव ल्याउँछ भनेर अझ ५, १० वर्ष कुर्ने हो भने देशको अस्तित्व नै नरहने सम्भावना भएको भन्दै निर्वाचन अगाडि नै निकास एकदमै आवश्यक रहेको बताए ।
उनले भने, ‘अहिले पनि महिनामा ६५ हजार नेपाली देश छोडेर विदेशिनु परेको छ । यो निर्वाचनले कुनै खालको बद्लाव यो देशमा ल्याउँला भनेर अझ ५–१० वर्ष कुर्ने हो भने त्यो समयसम्म सायद देशको अस्तित्व नै रहला कि नरहला, नेपाली भए त नेपाल नेपाली नै सबै विदेशिन थालेपछि कसरी नेपाल हुन्छ । त्यसकारण निर्वाचन अगाडि नै निकास एकदमै आवश्यक छ ।’
प्राइम टीभीका सञ्चालक ऋषि धमलाले जेनजी आन्दोलनपछि बनेको सरकार र सरकारको प्रधानमन्त्री शुसीला कार्कीमाथि धेरैको आशा र भरोसा रहेको बताए ।
उनले भने, ‘जेनजी आन्दोलनपछि शुसीला कार्की देशको प्रधानमन्त्री बन्नु भयो र उहाँमाथि धेरैको आशा र भरोसा थियो । यो सरकारले भ्रष्टाचारीलाई कारबाही गर्छ, यो सरकारले सुशासन दिन्छ, यो सरकारले जेनजी जनविद्रोहलाई दबाउनेलाई कडा कारबाही गर्छ भन्ने जनताको चाहना थियो ।’
आज जेनजी पुस्ताहरू दलीय राजनीतिमा लागेको उल्लेख गर्दै राजनीतिमा लागे पनि सबैले भदौ २३ र २४ गतेको कालो दिनलाई बिर्सिन नहुने पनि उनको भनाइ छ ।




प्रतिक्रिया