प्रधानन्यायाधीश मिश्रले पदबहाल समहाले, जाेशीले अँगालाे हालेर स्वागत गरे

प्रधानन्यायाधीश मिश्रले पदबहाल समहाले, जाेशीले अँगालाे हालेर स्वागत गरे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराएसँगै नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले सर्वोच्च पुगेर कार्यभार सम्हालेका छन्।

मिश्रलाई सर्वोच्चमा संसदीय सुनुवाई समितिबाट अस्वीकृत भएका न्यायाधीश दीपकराज जोशीले अँगालो हालेर स्वागत गरे। मिश्रकाे स्वागत पछि उनले न्यायालयमा न्यायाधीशमा जुनियर सिनियर नहुने बताए ।

जाेशीकाे स्वागत पछि सर्वोच्च अदालतमा कार्यभार सम्हाल्दै प्रधानन्यायाधीश मिश्रले न्यायालयमा हुने भ्रष्टाचार नियन्त्रण गर्ने दाबी गरे। उनले प्रधानन्यायायाधीशले पेशी तोक्ने व्यवस्थासमेत परिवर्तन गर्ने बताए। उनले भने, ‘प्रधानन्यायाधीशले पेशी तोक्ने व्यवस्थालाई परिवर्तन गर्दै अटोमेटिक पेशी तोकिने व्यवस्था ल्याइने छ। जसका लागि विद्युतीय माध्यम अपनाइने छ।’

उनले छोटो समयका लागि पदभार ग्रहण गरेपनि आफ्नो कार्यकालमा न्यायालयमा उल्लेख्य सुधार गर्ने दाबी गरे। ‘छोटो समयका लागि प्रधानन्यायाधीश बन्न लागेपनि मेरो कार्यकालमा उल्लेख सुधार भएको हेर्न पाउनुहुनेछ।’, मिश्रले भने, ‘यसबीचमा न्यायालयमा व्याप्त विचौलियाको समस्या समाप्त गर्नमा मेरो प्रयास रहने छ।’

संवैधानिक परिषद्को सिफारिसमा मिश्रको नाम आजै संसदीय सुनुवाइ समितिले सर्वसम्मत रुपमा अनुमोदन गरेको थियो। समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीशलाई नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।  कामु प्रधानन्यायाधीश मिश्रलाई यही भदौ ७ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो।

कानून मन्त्रालयको शाखा अधिकृतका रुपमा न्याय सेवामा प्रवेश गरेका मिश्रलाई आजदेखि २८औँ प्रधानन्यायाधीशका रुपमा न्यायालयको सर्वोच्च स्थानमा रहेर कार्यसम्पादन गर्ने अवसर प्राप्त भएको हो। रुपन्देहीको रायपुरमा विसं २०१० पुस २८ गते जन्मेका मिश्रले विसं २०३८ जेठ ३० गते तत्कालीन कानून तथा न्याय मन्त्रालयबाट शाखा अधिकृतबाट सेवा शुरु गरेका हुन्।