शान्ती सेनामा जाँदा नेपाली सेनाले पाउने जिम्मेवारीका विषयमा राष्ट्रसंघसँग छलफल भइरहेको छ :मन्त्री पोखरेल


काठमाडौं – उपप्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेलले नेपाली सेनाले ऐतिहासिक किल्ला, स्तम्भहरुको रक्षा गर्ने कामको सुरुवात गरेको बताएका छन् ।

बुधबार मन्त्रालयमा कार्यकालको दुई वर्षको प्रगति सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले पछिल्लो समय सीमा क्षेत्रमा ऐतिहासिक किल्ला तथा स्तम्भहरु संकटमा परेको भन्दै सेनाले रक्षा गर्ने कामको सुरुवात गर्न लागेको बताएका हुन् ।

त्यस्तै दुई वर्षको अवधिमा रक्षा मन्त्रालयले नीतिगत तथा कानुनी सुधारतर्फ उल्लेख्य काम गरेको उनले बताए । राष्ट्रिय सुरक्षा नीति २०७३ लाई परिमार्जन गरी राष्ट्रिय सुरक्षा नीति २०७५ पारित भएको, राष्ट्रिय सुरक्षा विधेयकलाई बढाइएको, सैनिक ऐन २०६३ मा रहेका नमिल्दा कुराहरुलाई संशोधन गरिएकोलगयत नीतिगत सुधारका काम भएको रक्षामन्त्रीले बताए ।

उनले विदेशी मिसनमा जाँदा नेपाली सेनाले पनि नेतृत्व तहमा जिम्मेवारी पाउने विषयमा समेत राष्ट्रसंघसँग छलफल भइरहेको जानकारी दिए । संयुक्त राष्ट्रसंघ शान्ति सेनामा नेपालबाट पाँच हजार एक सय जना सैनिक अधिकृत र जवानहरुको सहभागिता रहेको छ ।

उनले नेपाली सेनालाई शान्ति मिसनमा पठाउँदा नेता तथा मन्त्रीका आफन्तले प्राथमिकता पाउने गरेको उल्लेख गर्दै त्यसको अन्त्यका लागि ‘शान्ति सेना छनोट कार्य्विधि’ तयार गरिएको बताए ।

यसबाहेक सुरक्षासम्बन्धी उच्च अध्ययन अनुसन्धान प्रतिष्ठानको रुपमा ‘नेसनल डिफेन्स युनिर्भ्सिटी’ स्थापना गर्ने प्रक्रियालाई रक्षा मन्त्रालयले अघि बढाएको छ । त्यसका लागि संस्थागत संरचना निर्माणको कम सुरु भइसकेको र पूर्वाधार विकासको काम अगाडि बढाउन लागिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement