‘मितेरी गंगादेवी शान्ति’ पुरस्कार कुँवर र शाहीलाई


काठमाडौं – यस वर्षको ‘मितेरी गंगादेवी शान्ति’ पुरस्कार अछामकी मथुरा कुँवर र जुम्लाका सरोज शाहीलाई प्रदान गरिएको छ ।  एक्सन वर्कस् नेपालले प्रत्येक वर्ष प्रदान गर्दै आएको पुरस्कार कुँवर र शाहीलाई प्रदान गरिएको हो ।

काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेकपाका सचेतक एवं सांसद शान्ता चौधरी र पुरस्कारकी संस्थापक राधा पौडेलकी बुबा देवीप्रसाद पौडेलले हस्तान्तरण गरेका हुन् । पुरस्कारको राशी जनही नगद पाँच हजार पाँच रुपैयाँ रहेको छ ।

स्वय् एचआइभी संक्रमित कुँवरले एसआइभी संक्रमितको क्षेत्रमा काम गदै आएकी छन् भने शाहीले कर्णालीको खेलकुद क्षेत्रमा सहयोग गर्दै आएका छन् ।
अभियन्ता पौडेलको पुस्तक ‘खलङ्गामा हमला’ ले २०७० सालमा मदन पुरस्कार पाएको थियो । आफूले पाएको मदन पुरस्कारबापतको २ लाखमा पौडेलले एक लाख थपेर ३ लाख रुपैयाँको कोषको व्याजबाट हरेक वर्ष ‘मितेरी गंगादेवी शान्ति’ पुरस्कार प्रदान गर्दै आएकी छिन् ।

यस्तै कार्यक्रममा एक्सन वर्कस् नेपाल मार्फत सामाजिक कार्यमा सहयोग गरेको भन्दै काठमाडौं उपत्यकाको उज्वलतारा स्कूल र केएनके इन्टरनेशनल कलेजलाई समेत सम्मान गरिएको थियो ।  कार्यक्रममा नेकपाकी सचेतक एवं सांसद शान्ता चौधरीले आफू पनि संघर्षबाट यहाँसम्म आएको भन्दै प्रत्येक व्यक्ति संघर्षबाट प्रगतिको पथमा पुग्न सक्ने बताइन् ।

अर्की सांसद इन्दु शर्माले समान अधिकारको लागि शिक्षामा जोड दिनुपर्ने बताउँदै समाज परिवर्तनको लागि महिलाको ठूलो भूमिका रहेको बताइन् ।  उनले कर्णालीमा छाउपडि प्रथा जस्तै तराईमा पनि बोक्सी, दाईजो जस्ता कुप्रथा यथावत रहेको बताइन् । कार्यक्रममा पुरस्कारका सदस्य सचिव सरोज दाहालले प्रत्येक वर्ष संस्थाले ग्रामीण क्षेत्रमा रहेका, धेरैका आँखा नपुगेका व्यक्तिलाई सम्मान गर्दै आएको बताए ।

कार्यक्रममा पुरस्कृत हुने कुँबर र शाहीले पुरस्कारले आगामी दिनमा अझ सशक्त भएर काम गर्ने प्रेरणा मिलेको बताएका थिए ।  सम्मानित हुने उज्वलतारा स्कूलका गायत्री कार्की र केएनके इन्टरनेशनल कलेजका विमल खड्काले सम्मानित गर्ने संस्थालाई धन्यवाद दिँदै आगामी दिनमा सहकार्य गरेर अघि बढ्ने बताएका थिए ।  संस्थाले उक्त पुरस्कार हालसम्म जुम्लाका चैते गिरी, पर्साका अकवाल अन्सारी, लमजुङका पदमावती लिम्बु, सिन्धुपाल्चोकका सीताराम श्रेष्ठ, जुम्लाका देवीकन्या आचार्य, मुगुका चित्रबहादुर मल्ल, बैतडीका कालु चन्द र बाराका सुगन्धी पासवासनलाई प्रदान गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement