भेउ नै नपाई माधव नेपाल लगाइए छेउ, सचिवालयमा एक्लै


काठमाडौं-  तत्कालीन नेकपा एमालेभित्र लामो समय महासचिव भएर काम गरेका व्यक्ति हुन् माधवकुमार नेपाल । उनी सरकार सञ्चालनको कार्यकारी पद प्रधानमन्त्री समेत भइरहेका छन् ।

तत्कालीन नेकपा एमालेदेखि माओवादीसँग एकीकरणपछि बनेको नेपाल कम्यनिस्ट पार्टी (नेकपा) मा पनि पूर्व प्रधानमन्त्री नेपालको छुट्टै गुट छ । उनको पक्षमा देशभर कार्यकर्ता छन् । तर उनी नेकपाको सचिवालयमा एक्लिँदै छेउ लगाइएका छन् ।

केही दिनयता वरिष्ठ नेताको पहिलो वरीयतामा रहेका माधवकुमार नेपाललाई हटाएर झलनाथ खनाललाई राख्नुपर्ने माग उठिरहेको थियो । नेकपा एकीकरण हुँदा वरिष्ठ नेताको पहिलो वरीयतामा नेता नेपाल नै थिए । त्यतिबेला चीनमा रहेका खनाल छेउ लगाइएका थिए तर आईतबार एउटा यस्तो निर्णय भयो, जसबाट झलनाथ खनाल बीचमा आए र माधवकुमार नेपाल छेउ लगाइए ।

आईतबारको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावमा नेपाललाई पहिलो वरीयताबाट हटाएर खनाललाई पहिलो बनाइयो । सचिवालय बैठकबाट आफूलाई छेउ लगाउन लागिएको भेउसम्म पाएनन् नेता नेपालले । ९ सदस्यीय सचिवालयमा उनी एक्लिए । सचिवालयका नेताहरू ओली, प्रचण्ड, झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल सबै एकातिर उभिए । नेता नेपाल एक्लै !

आफूलाई घटुवा गर्न लागेको थाहा पाएपछि नेता नेपालले चाल चल्न खोजे । उनले प्रचण्डलाई आफूतिर तान्न ओलीलाई सिधै भने, ‘तपाई कि अध्यक्ष छोड्नुस् कि प्रधानमन्त्री छोड्नुस् ।’ उनले अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एउटा सिंगै पद प्रचण्डलाई दिनुपर्छ भन्ने माग राख्न खोजेका थिए । तर प्रचण्डले नै त्यसलाई इन्कार गरेपछि माधवकुमार नेपालको चालले काम गरेन ।

सचिवालय बैठकको निर्णयमा नीतिगत विषय नमिलेको भन्दै उनले ‘नोट अफ डिसेन्ट’ लेखेको बैठकपछि सञ्चारकर्मीलाई बताए । आईतबारको बैठकमा भएको जनवर्गीय संगठनको इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव तोक्ने निर्णयमा समेत माधवकुमार नेपाल एक्लिए । नेता नेपालको गुट बाइपास भयो, उनले अपेक्षाकृत भाग पाएनन् ।

नेता नेपालले तत्कालीन नेकपा एमालेमा पदाधिकारीको हैसियतमा रहेका नेतालाई सचिवालयमा ल्याउनुपर्ने प्रस्ताव समेत राखे । तत्कालीन एमालेका उपाध्यक्ष भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली सचिवालयमा छैनन् । तत्कालीन एमालेका उपाध्यक्षमध्ये विद्या भण्डारी राष्ट्रपति छिन् भने वामदेव गौतम सचिवालयमा छन् । विधान अनुसारै ३ उपाध्यक्ष रावल, शाक्य र ज्ञवालीलाई पनि सचिवालयमा ल्याउनुपर्ने नेता नेपालको प्रस्ताव थियो । तर सचिवालयमा एक्लिएका माधवकुमार नेपालको प्रस्तावलाई कसले सुन्ने ?

उनको कुरा बैठकमा सुनुवाइ नै भएन । ३ उपाध्यक्षलाई सचिवालयमा ल्याउन खोजेर नेता नेपाललाई बैठकमा आफ्नो साथी थप्न खोजिरहेका छन् । सचिवालयमा एक्लिएपछि बैठकमा नेता नेपालका कुरा सुन्ने कोही छैनन् ।

नेकपाको सचिवालय हाल शक्तिशाली छ । हरेक महत्वपूर्ण निर्णय सचिवालयबाटै हुने गरेका छन् । पार्टीका जिम्मेवारी बाँडफाँड र पार्टी एकतालाई टुंग्याउने काम सचिवालय नै गरिरहेको छ । त्यही सचिवालयमा नेता नेपाल छेउ लगाइएका छन् ।  

पार्टीका महत्वपूर्ण तह स्थायी कमिटी र केन्द्रीय कमिटीलाई निष्क्रिय बनाइएको छ । जम्बो टोली भएका कारण दुवै तहका बैठक नै बस्दैनन् । अधिकांश निर्णय सचिवालयले नै गर्छ । नेकपाभित्र नयाँ समिकरण बनेर माधवकुमार नेपाल छेउ लगाइएपछि नेपाल गुट देशभर समस्यामा पर्नसक्ने विश्लेषण हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement