काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले भारतले नेपाली भूमिसमेत प्रयोग गरी चीनको मानसरोबार पुग्ने बाटो निर्माण गरेपछि आपत्ति जनाएका छन् ।
आइतबार विज्ञप्ति जारी गर्दै नेता नेपालले भारतको उक्त कार्यले दुई देश बीचमा यसअघि भएका सम्झौता र सहमतिहरुको गम्भीर उल्लंघन हुनुका साथै नेपालको सार्वभौमसत्ता र अखण्डतामाथि प्रहार भएको उल्लेख गरेका छन्।
‘नेपाली भू–भागसमेत आफ्नै मुलुकको सीमामा राखी भारतले गत नोभेम्बर ४, २०१९ मा राजनीतिक नक्शा प्रकाशन गरेपछि नेपालले त्यसको प्रतिवाद गर्नुका साथै उक्त विषयमा कुरा गर्न विदेश सचिवस्तरीय बैठकका लागि ताकेता गरिरहेकोमा त्यसलाई वेवास्ता गर्दै र विश्व नै कोभिड–१९ महामारीका विरुद्धमा लडिरहेको बेला भारतले नेपाली भूमिबाटै चीनको मानसरोबार जाने बाटो निर्माण गरी उदघाटन गर्नु अत्यन्त दुःखद र आपत्तिजनक छ,’ नेपालले भनेका छन् ।
उनले नेपालको पश्चिम पहाडी भू–भाग र भारतबीचको सीमा सन १८१६ मा सम्पन्न सुगौली सन्धिबाट निर्धारित रहेकाले उक्त सन्धिको धारा ५ अनुसार लिम्पियाधुराबाट निस्किने काली (महाकाली)नदी नै दुई देशबीचको सीमा नदी भएको स्पष्ट पारेका छन् ।
‘उक्त सन्धिको प्रावधान र मर्म विपरीत भारतले नेपाली भू–भागलाई आफ्नो नक्सामा राख्नु, अनाधिकृत रुपमा सुरक्षाकर्मी राख्नु र बाटो निर्माण गर्नु स्वतः सन्धी विपरीत हुन्छ,’ उनले भनेका छन्, ‘कालापानीबाट भारतीय सैनिक फिर्ता र राजनीतिक नक्शा सच्याउन हामीले बारम्बार आग्रह गर्दै आएको पनि स्मरण गराउन चाहन्छौँ ।’





प्रतिक्रिया