मोबाइल लुटेर बैंक खाताबाट २ लाख रकम ‘ट्रान्सफर’ गर्ने ३ जना पक्राउ

मोबाइल लुटेर बैंक खाताबाट २ लाख रकम ‘ट्रान्सफर’ गर्ने ३ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मोबाइल लुटपाट गरी मोबाइल बैंकिङ र डिजिटल वालेटमार्फत रकम ‘ट्रान्सफर’ गरेर चोरी गर्ने कार्यमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष टोलीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरूमा काठमाण्डुको बुढानीलकण्ठ बस्ने १९ वर्षीय समिर तामाङ, १८ वर्षीय जनम तामाङ र कपन बस्ने १८ वर्षीय प्रज्वल राई रहेका छन् ।

प्रहरीका अनुसार उनीहरूले मोबाइल लुटपाट गरेपछि मोबाइलमा रहेका बैंकिङ एप र डिजिटल वालेटहरू अनाधिकृत रूपमा रिसेट गरी पहुँच पुर्‍याउने गरेका थिए ।

यसरी पहुँच पुर्‍याएपछि उनीहरूले पीडितको बैंक खाता र वालेटमा रहेको कुल २ लाख २७ हजार ६०० रुपैयाँ विभिन्न बैंक खाता, वालेट र पसलहरूमा रकमान्तर गरी चोरी गरेको अनुसन्धानबाट खुलेको छ ।

अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार पक्राउ परेका तीनै जनालाई चोरी तथा बैंकिङ कसुर अन्तर्गत आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको छ ।

पछिल्लो समय मोबाइल लुटपाट गरी वित्तीय एपहरूबाट रकम निकाल्ने प्रवृत्ति बढेकाले प्रहरीले विशेष निगरानी बढाएको छ ।