काठमाण्डु – नेपाल प्रहरीको अनुसन्धानमा अत्यन्तै उपयोगी मानिएको सीम लोकेटर (मोबाइल सर्विलेन्स डिभाइस ) प्रयोगमा नआउँदै काम नलाग्ने अवस्थामा पुगेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले विभिन्न घटनाको अनुसन्धान र अपराधी पत्ता लगाउन करोडौं मूल्यमा किनेको मोबाइल सर्विलेन्स डिभाइस बेवारिसे अवस्थामा पुगेको हो । ठेकेदार कम्पनी नियोटेरिक नेपालका कारण उक्त बहुमूल्य डिभाइस काम नलाग्ने अवस्थामा पुगेको सीआईबीका प्राविधिकहरुले जनाएका छन् ।
सीम लोकेटर खरिदका लागि सिआईबीका तत्कालिन प्रमुख एआईजी सहकुुलबहादुर थापा (तत्कालीन डीआइजी) ले ठेक्का दिएका थिए । उनले गोल्छा समूहको नियोटेरिक नेपाल प्रालिलाई ठेक्का दिएका हुन् ।
नियोटेरिक नेपालले सम्झौताअनुसार जडान, सञ्चालन र तालिम नगराउँदा उक्त उपकरण कवाडी बन्ने अवस्थामा पुगेको हो । नियोटेरिकका सञ्चालक सञ्जय गोल्छा हुन् ।
झण्डै साढे सात करोड भन्दा बढी मूल्यमा खरिद गरिएको मोबाइल सर्विलेन्स डिभाइस अहिले प्रहरी केन्द्रीय कार्यालय र सिआईबीमा बेवारिसे अवस्थामा छ ।
सामाजिक सञ्जालमार्फत हुने अपराध नियन्त्रणका लागि ओपन स्पेस इन्टेलिजेन्स सिस्टम खरिद गरिएको थियो । सिआईबीका प्रवक्ता एसपी श्यामकुमार महतोले मोबाइल सर्विलेन्स डिभाइस बेवारिसे अवस्थामा नरहेको बताए । उनले उक्त प्रविधि प्रोसेसमा रहेको जानकारी दिए । उनले कस्तो प्रोसेस भन्ने विषयमा खुलाउन चाहेनन् ।
‘यो प्रोसेसमा छ । अनुसन्धानको विषय भएकाले यसबारे धेरै बोल्न मिल्दैन,’ प्रवक्ता महतोले काठमाण्डुपाटीसँग भने ।
एआईजी थापाले तत्कालिन समयमा सिआईबीको प्रमुख हुँदा उक्त डिभाइस खरिदका लागि टेण्डर दिएका थिए । मोबाइल सर्विलेन्स डिभाइस खरिदका लागि प्रहरी प्रधान कार्यालयबाट साढे ९ करोड रुपैयाँ प्राप्त भएको थियो । तर, डिभाइस खरिदका लागि निकासा भएको रकमभन्दा कम मूल्यमा खरिद गरिएको छ ।
आम नागरिकको समेत मोबाइलमार्फत निगरानी गर्नसक्ने उपकरण खरिदअघि गृह र सञ्चार मन्त्रालयले सहमति दिएका थिए । नियोटेरिक नेपालले स्विडेनको फोर इन्टिलिजेन्स नामक कम्पनी मार्फत खरिद गरेको उपकरण खरिद प्रक्रिया नै शंकास्पद देखिएको छ ।
कम्पनीका प्रतिनिधि भूपेन्द्र झाले खरिद प्रक्रियाका लागि अन्तर्राष्ट्रिय कम्पनीका नाममा खोल्नु पर्ने लेटर अफ क्रेडिट नेपालीका नाममा खोलेको खुलासा भएको हो ।
के हो सीम लोकेटर ?
विशिष्ट प्रकृतिका घटनाको अनुसन्धान गर्ने ब्यूरोका लागि सीम लोकेटर आवश्यक उपकरणमध्येकै एक हो । प्रहरीको अपराध अनुसन्धानको मुख्य हतियार मोबाइल हो । मोबाइलकै माध्यमबाट यो उपकरणले काम गर्छ । यो प्रविधि जडान भएपछि अपराधमा संलग्न व्यक्तिलाई पक्राउ गर्न सहज हुनेछ ।
यो उपकरणको माध्यमले शंकास्पद व्यक्तिलाई पाँच मिटरको दूरीसम्मको संकेत पत्ता लाउन सक्छ । कुनै पनि व्यक्तिलाई पक्राउ गर्नुपरेमा सो क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनीको बिटिएस टावरका आधारमा सम्बन्धित व्यक्ति रहेको स्थान पहिचान गरिन्छ ।
यो प्रविधि जडान भएपछि अपराधमा संलग्न व्यक्तिलाई पक्राउ गर्न सहज हुनेछ । यो प्रविधि जडान गरेपछि प्रहरीले मोबाइलको माध्यमबाट सहजै अभियुक्त पक्राउ गर्नेछ । यसका लागि लोकेटर लिएर प्रहरी फिल्डमै जानुपर्ने हुन्छ । यो प्रविधिले प्रहरीलाई शंकित व्यक्तिलाई पाँच मिटरको दूरीसम्मको सूचना दिन्छ ।
हाल कुनै पनि व्यक्तिलाई पक्राउ गर्नुपरेमा सो क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनीको बिटिएस टावरका आधारमा सम्बन्धित व्यक्ति रहेको स्थान पहिचान गरिन्छ । तर, त्यो क्षेत्रमा कुन ठाउँमा छन् भन्ने पत्ता लगाउन प्रहरीलाई निकै गाह्रो हुन्छ ।
कुनै स्थान पहिचान भएमा सिम लोकेटरले कुनै दिशामा कति मिटर टाढा छ भनेर देखाउनेछ । जसले शंकित व्यक्ति सहजै पक्राउ पर्नेछन् ।
हाल कल डिटेल, एसएमएस तथा लोकेसेन लिन प्रहरीले अदालतको अनुमति लिनुपर्ने हुन्छ । तत्कालका लागि सिआइबीसँग यस्तो एउटा मात्र प्रविधि हुनेछ ।




प्रतिक्रिया