विदेशबाट ल्याइएका दर्ता नभएका मोबाइल साउन १ गतेदेखि नचल्ने

विदेशबाट ल्याइएका दर्ता नभएका मोबाइल साउन १ गतेदेखि नचल्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अवैध रुपमा विदेशबाट ल्याइएका मोबाइल फोन साउन १ गतेदेखि नचल्ने भएको छ । सरकारले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सञ्चालनमा ल्याउन लागेसँगै अवैध रुपमा नेपाल भित्रिने मोबाइल फोन नचल्ने भएका हुन् ।

यसअघि आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले एमडीएमएस सञ्चालनसम्बन्धी जानकारी दिएका थिए । एमडीएमएस सन्चालनमा आइसकेपछि अवैध रुपमा भित्रिएका मोबाइल नियन्त्रण हुने सरकारको विश्वास छ ।

यता, यस व्यवस्थाका कारण विदेशबाट निजी प्रयोगका रूपमा वा उपहार पाएर मोबाइल भित्र्याउनेहरू त्रसित बनेका छन् । तर, नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले राज्यलाई राजस्व छलेर नेपाल भित्रिने मोबाइल सेटलाई नियन्त्रण गर्ने प्रयोजनका लागि मात्र यो व्यवस्था बनाइएकाले अरूले डराउनुनपर्ने बताए ।

नेपाल दूरसञ्चार प्राधिकरणले अवैध रूपमा भित्रिएका मोबाइल बन्द गराउन करिब ५ वर्षदेखि इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी (आईएमईआई) नम्बर दर्ता गराउने काम गर्दै आएको छ ।

विदेशबाट सीधै खरिद गरेर ल्याइएका मोबाइललाई प्राधिकरणको अनलाइनमा रजिस्टर गरेपछि मात्रै सञ्चालनमा आउने उनले बताए । हाल चलिरहेका मोबाइलमा यो लागू नभए पनि साउन एक गतेपछि सञ्चालनमा आउने मोबाइलमा यो नियम कडाइका साथ लागू हुने प्रवक्ता पौडेलले बताए ।

‘आपराधिक क्रियाकलाप नियन्त्रण गर्न र राज्यलाई राजस्वसमेत बढाउन यस्तो व्यवस्था कडाइका साथ लागू गर्न लागेका हौं । यो साउन १ देखि भित्रिने मोबाइल सेटमा लागू हुन्छ, अन्यले डराउनुपर्दैन,’ प्रवक्ता पौडेलले काठमाण्डुपाटीसँग भने ।

नेपालमा खरिद गरिएका मोबाइलमा नेपाल भित्र्याउने कम्पनीले रजिस्टर गर्ने हुँदा त्यसको सबै जानकारी प्राधिकरणसँंग हुन्छ । तर बाहिरबाट ल्याइएका मोबाइलको कुनै जानकारी नहुँदा त्यस्ता मोबाइलबाट आपराधिक क्रियाकलापसमेत हुने गरेको र त्यसको नियन्त्रणका लागि मोबाइल रजिस्ट्री अनिवार्य गरेको प्राधिकरणले जनाएको छ ।