पुटिन–पथमा मोदी : भारतले कति थेग्ला ?

पुटिन–पथमा मोदी : भारतले कति थेग्ला ?


काठमाण्डु – भारतमा निर्वाचन जारी छ । सात चरणमध्ये चार चरणको निर्वाचन सम्पन्न भइसकेको छ र आगामी जुन १ (जेठ १९) मा अन्तिम चरणको निर्वाचन सम्पन्न भएपछि जुन ४ (जेठ २२) मा भारतीय अठारौँ लोकसभा निर्वाचनको अन्तिम परिणाम घोषणा हुनेछ । ९७ करोड मतदाता रहेको भारतीय निर्वाचनमा विद्युतीय मतदान मेसिन (ईभीएम) प्रयोग गरिएका कारण सोही दिन अन्तिम नजिता सार्वजनिक हुनेछ ।

कतिपयले यस निर्वाचनलाई निर्वाचन आयोगले परिणाम घोषणा गर्नुपूर्व नै परिणाम सार्वजनिक भइसकेको निर्वाचनका रूपमा अथ्र्याएका छन् । विगत १० वर्षदेखि सरकारको नेतृत्व गरिरहेको भारतीय जनता पार्टी (भाजपा) ले एक्लै बहुमत ल्याउने र नरेन्द्र मोदी प्रधानमन्त्रीमा तेस्रो कार्यकालका लागि चयन हुने कुरा ‘ओपन सेक्रेट’ जस्तै रहेको अर्थमा यस निर्वाचनलाई पहिल्यै परिणाम सार्वजनिक भइसकेको रूपमा चर्चा गरिएको छ ।

भाजपा आफैंले अबकी बार चार सौ पार नारा तय गरेर भारतीय मतदातामा विकल्पमै जान नदिने रणनीति अख्तियार गरेका कारण धेरैलाई यस्तो लाग्नु अस्वाभाविक होइन । साथै शासन सत्ताको प्रयोग, मोदी केन्द्रित प्रचार रणनीति र बलियो सरकारको भाष्यले भारतीय मतदातालाई राम्रै गरी प्रभाव पनि पारिरहेको छ ।

अर्कातिर कमजोर विपक्षका कारण भाजपालाई विकल्पका रूपमा छान्न मतदातालाई सजिलो भएको छ । मुख्य प्रतिस्पर्धी कांग्रेस (आई) का नेता राहुल गान्धीलाई वैकल्पिक नेताका रूपमा अनुमान गरिए पनि विपक्षी इन्डिया गठबन्धनले प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्न सकेन । भाजपाको मुख्य प्रहार गान्धीमाथि नै केन्द्रित छ । पहिलेभन्दा आफ्नो स्वीकार्यता र लोकप्रियता बढाएका गान्धी एक्लैले मोदीलाई थेग्न गाह्रो बन्दै गएको छ ।

नरेन्द्र मोदीले चुनाव जित्ने निश्चितप्रायः छ । तर उनले लिएका नीति, धर्मका आधारमा भारतीय समाजलाई विभाजित गर्नका लागि गरिरहेका प्रयास, चुनावका क्रममा व्यक्ति उत्तेजक अभिव्यक्ति, पार्टीमाथि व्यक्तिको शासन, भक्तहरूको घेरा जस्ता विषयले विविधता नै विविधताले भरिएको भारतको भविष्य के हुन्छ भन्ने प्रश्न पनि उब्जिएका छन् ।

नरेन्द्र मोदीले भाजपामाथि एकल कब्जा जमाएका छन् । उनी अहिलेसम्म भाजपाको अध्यक्ष भएका छैनन् तर पर्दामा उनीबाहेक कोही पनि देखिँदैन । अग्रज नेताहरू हुँदाहुँदै आफूलाई सतर्कताका साथ प्रधानमन्त्रीका रूपमा अघि बढाउने र उम्मेदवार घोषणा गर्ने राजनाथ सिंहलाई आफूपछिको वरियतामा मन्त्री बनाए पनि उनले किनारामा धकेलिसकेका छन् भने अर्का पूर्व अध्यक्ष नितिन गडकरीले पूर्वाधार निर्माणमन्त्रीका हिसाबमा उत्कृष्ट क्षमता देखाए पनि दृश्यमा आउनबाट रोकेका छन् । अर्का पूर्व अध्यक्ष एम बैंकया नायडुलाई उपराष्ट्रपति बनाएर घर पठाइसकेका छन् ।

धेरैलाई लागेको थियो, नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि भाजपाका वरिष्ठ नेता लालकृष्ण अड्वाणीलाई कम्तीमा राष्ट्रपति बनाएर सम्मान गरिनेछ । तर मोदीले पहिलोपटक रामनाथ कोविन्द र दोस्रो पटक द्रौपदी मुर्मुलाई खोजेर ल्याएर राष्ट्रपति बनाए, आडवाणीलाई एउटा पदक दिएर सम्मान गरेको देखाए । हिजोका दिनमा अटलविहारी बाजपेयी र लालकृष्ण अडवाणीसँग हुर्केका र उनीसँग निकट भएर राजनीति गरेका कोही नेता पनि आज भाजपाको शीर्ष भूमिकामा छैनन् ।

मोदीसँगै मुख्यमन्त्री रहेका र पार्टीमा उनीभन्दा माथिल्लो स्थानमा राख्ने जति नेतालाई उनले किनारामा पुर्‍याइसकेका छन् । यसका लागि गत वर्ष भएका तीन विधानसभाका निर्वाचनलाई हेर्न सकिन्छ । मध्यप्रदेशमा शिवराजसिंह चौहानले निकै मिहिनेत गरेर भाजपालाई भारी बहुमत दिलाए र सबैको सहज अनुमान थियो – उनी नै मुख्यमन्त्री हुनेछन् । विधानसभा दलको बैठक बस्दासम्म पनि स्वयम् उनलाई नै सुइँको नभएका मोहन यादवको नाम अघि सारेर मोदीले आफूबाहेक भाजपामा कुनै नेता पनि केही होइन भन्ने सन्देश दिए । राजस्थानमा पनि त्यस्तै दृष्य दोहोरियो । पूर्व मुख्यमन्त्री बसुन्धरा राजेलाई स्वाभाविक रूपमा मुख्यमन्त्री ठानिएकोमा उनले नामै नसुकिएका भजनलाल शर्मालाई अघि सारे भने छत्तिसगढमा १५ वर्ष मुख्यमन्त्री रहेका रमण सिंहलाई विधानसभाको सभामुखमा थन्क्याएर विष्णुदेव साईलाई मुख्यमन्त्री बनाए । कारण– यी तीनै जना कुनै बेला पार्टीमा मोदीभन्दा वरिष्ठ थिए र उनीहरूले २०१४ मा मोदीलाई होइन, लालकृष्ण अडवाणीलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्नुपर्छ भन्ने मत राखेका थिए ।

आजको भाजपा पूर्णरूपमा मोदीको नियन्त्रणमा छ । प्रत्यक्षबाट चुनावै लड्न नसक्ने जेपी नड्डा देखावटी अध्यक्ष छन् । भाजपा खासमा मोदी र उनका अनन्य सहयोगी अमित शाहले चलाइरहेका छन् । भाजपाका हरेक निर्णय मोदी–शाहले गर्छन्, अरु सबै थपडी बजाउनेमा सीमित छन् । यतिसम्म कि निर्वाचन घोषणा पत्रलाई समेत भाजपाको घोषणा पत्रका रुपमा मादीका ग्यारेन्टीका रूपमा सार्वजनिक गरिएको छ, आवरणमै त्यही नारा र मोदीको तस्वीरसहित ।

भारत विशाल लोकतन्त्र हो, जहाँ विपक्षीसँग प्रतिस्पर्धा हुन्छ, दुश्मनी हुँदैन भन्ने ठानिन्थ्यो । छिमेकी पाकिस्तान र बंगलादेशमा राजनीतिक प्रतिशोधका आधारमा नेताहरूमाथि मुद्दा चलाइँदा पनि भारत चाहिँ त्यसबाट टाढै थियो र लोकतन्त्रको उदाहरणका रूपमा लिइन्थ्यो । मोदीले यस दृष्यलाई पनि बदलेका छन् र आफ्ना विरोधीलाई छानी–छानी राज्य संयन्त्रको प्रयोगबाट तह लगाउन खोजेका छन् । त्यसको एउटा उदाहरणका रूपमा राहुल गान्धी नै छन् । राहुलमाथि यति धेरै मुद्दा दायर गरियो कि उनले अधिकांश समय अड्डा अदालत धाउँदैमा बिताउनुपर्‍यो । उनको लोकसभा सदस्यता खारेज गरियो, बसेको निवासबाट अपमानपूर्वक निकालियो । धन्न अदालतले इमान राखेका कारण राहुल लोकसभामा फर्किए ।

मोदी सत्ताले झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनलाई जेलमा राखेको छ भने जेल राखिएका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल चुनाव प्रचार गर्ने प्रयोजनका लागि मात्र जमानीमा बाहिर निस्केका छन् । लोकसभामा तथ्य उठाएर बोल्ने त्रृष्णमुल कांग्रेसकी मौहा मोइत्रालाई संसद्बाटै निकालेर मुख बन्द गरियो । जबकि, आफूले कुनै बेला ठूला भ्रष्टाचारीका रूपमा चित्रित गरेका महाराष्ट्रका अजित पवारदेखि बिहारका नितिशकुमारसम्म आफूतिर आउँदा उनीहरूका मुद्दा अघि बढाइएन । त्यही भएर भाजपालाई विपक्षीहरूले वासिङ मेसिनको संज्ञा दिइरहेका छन् ।

प्रधानमन्त्री मोदीले राज्य संयन्त्रको चरम दुरुपयोग गरिरहेका छन् । यसका लागि इन्फोर्समेन्ट डिपार्टमेन्ट (ईडी) लाई उनले प्रयोग गरिहेको पाइन्छ । व्यापारी, कर्मचारीदेखि नेतासम्मलाई नियन्त्रणमा राख्न यही निकायको उपयोग भइरहेको छ । त्यसबाहेक १० वर्ष निरन्तर सत्तामा रहेका कारण मोदीले राज्य संयन्त्रका सबैतिर आफ्नो पकड बलियो बनाएका छन् ।

नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आफ्नो आदर्श बनाएको भान उनका गतिविधि हेर्दा हुन्छ । सन् १९९९ को अगस्तमा सरकार प्रमुखका रूपमा र त्यसै वर्षको डिसेम्बर ३१ मा बोरिश यल्तसिनले राष्ट्रपतिबाट राजीनामा दिएपछि कार्यबाहक राष्ट्रपतिका रूपमा सत्तामा आएका पुटिनले दिव्य २५ वर्षमा पछाडि फर्केर हेर्नुपरेको छैन । पहिलोपटक सन् २००० र दोस्रो २००४ मा राष्ट्रपति निर्वाचित भएपछि संवैधानिक प्रावधानका कारण उनी पुनः राष्ट्रपति हुन नपाउने भएपछि २००८ मा प्रधानमन्त्री भए । फेरि २०१२ मा राष्ट्रपति निर्वाचित भएका पुटिन २०१८ मा पनि राष्ट्रपति भए र अर्को छ वर्षका लागि भर्खरै २०२४ मा पाँचौंपटक राष्ट्रपति निर्वाचित भएका छन् । यसका लागि पुटिनले आफ्ना कुनै पनि विरोधीलाई ठाउँ दिएका छैनन् । कुनै बेला आफ्नै केन्द्रीय कमिटीका आधा सदस्यलाई भौतिक कारवाही गरेर कम्युनिस्टहरूकै बीचमा बदनाम स्टालिनलाई पछ्याउँदै पुटिनले आफ्ना विरोधीहरूको सफाया गरेका छन् ।

गुप्तचर संस्था केजीबीको प्रमुखबाट राजनीतिमा आएको फाइदा उठाउँदै राज्यसत्तालाई नै नियन्त्रणमा लिएका छन् ।

मोदी पनि पुटिनकै बाटोमा लागेकोमा भारतमा चिन्ता देखिन्छ । एकातिर ठूलो जनसंख्या रहेको हिन्दूलाई खुसी पारेर भोट बैंक सुरक्षित गर्ने अनि अर्कातिर राज्य संयन्त्रको प्रयोग गरेर विपक्षलाई तह लगाउने उनको तरिकाले पुटिनपथको झझल्को दिएको छ ।

भारतले नरेन्द्र मोदी जत्तिकै बलियो नेता नदेखेको होइन । १९७१ मा पाकिस्तानलाई टुक्र्याएर बंगलादेश बनाउने, १९७५ मा सिक्किमलाई भारतमा विलय गराउने, रुससँग सम्बन्ध बढाएर अमेरिकासँग टक्कर लिने र जहाँ पुग्यो, त्यहीँ जनताको भीडले घेरिने इन्दिरा गान्धी मोदीभन्दा कम शक्तिशाली थिइनन् । कुनै बेला इन्डिया इज इन्दिराको नारा जनजनका मुखमा झुण्डिएको थियो । यतिसम्म कि अटलविहारी बाजपेयीले नै उनलाई दुर्गाको उपमा दिएको लिखत पनि अभिलेखमा पाइन्छ । तर तिनै इन्दिरा गान्धीले १९७५ मा भारतमा संकटकाल लगाउँदा दुई वर्षपछिको निर्वाचनमा शर्मनाक पराजय बेहोर्नुपर्‍यो । इन्दिरा गान्धीले कमजोर भएर संकटकाल लगाएकी थिइनन्, अति बलियो भएर लगाएकी थिइन् । तर उनीभन्दा बलिया जनता थिए र उनले दुई वर्षमै सजाय पनि पाइन् । अर्थात् भारतमा अति बलियो व्यक्ति होइन, भारतलाई गरीबीबाट मुक्त गर्न सक्ने समझदार नेता चाहिन्छ भन्ने बहस यसैकारण भइरहेको छ ।