काठमाण्डु – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’सँग छुट्टाछुट्टै टेलिफोन संवाद गरी बधाई दिएका छन् ।
प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले हासिल गरेको अभूतपूर्व सफलता र यी २ नेताको प्रभावशाली जीतपछि प्रधानमन्त्री मोदीले टेलिफोन गरी शुभकामना आदानप्रदान गरेका हुन् ।
सामाजिक सञ्जालमार्फत कुराकानीबारे जानकारी दिँदै मोदीले भनेका छन्, ‘रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँग मेरो सौहार्दपूर्ण टेलिफोन वार्ता भएको छ । निर्वाचनमा उहाँहरूको व्यक्तिगत जीत र रास्वपाले प्राप्त गरेको सानदार सफलताका लागि मैले हार्दिक बधाई दिएको छु ।’
संवादका क्रममा प्रधानमन्त्री मोदीले नेपालमा बन्न लागेको नयाँ सरकारलाई शुभकामना दिँदै २ देशको आपसी हित, प्रगति र समृद्धिका लागि नयाँ सरकारसँग मिलेर काम गर्न भारत प्रतिबद्ध रहेको स्पष्ट पारे । ‘हाम्रो संयुक्त प्रयासबाट आगामी वर्षहरूमा भारत र नेपालबिचको सम्बन्धले नयाँ उचाइ हासिल गर्नेमा म विश्वस्त छु,’ मोदीले भनेका छन् ।
नेपालमा नयाँ राजनीतिक शक्तिको उदय भएसँगै छिमेकी मुलुक भारतका सरकार प्रमुखले सिधै शीर्ष नेताहरूसँग संवाद गर्नुलाई कूटनीतिक क्षेत्रमा निकै महत्त्वका साथ हेरिएको छ ।




प्रतिक्रिया