चुनावको अघिल्लो रात, मोदी किन बसे १५ घण्टा गुफामा बास ?


 एजेन्सी – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबारको रात (१५ घण्टा)केदारनाथको गुफाभित्र बिताएका छन् । लोकसभा चुनावको अन्तिम चरणको मतदान हुनुभन्दा अघिल्लो रात मोदीले हिन्दु धार्मिकस्थल केदारनाथको गुफामा ध्यान गरेका हुन् ।

मोदीले समुद्र सतहदेखि ११ हजार ७ सय फिट उचाइमा रहेको गुफाभित्र रात बिताएको जनाइएको छ ।

मोदीले ध्यान गरेको गुफाभित्र ओछ्यान, बत्ती र शौचायलको व्यवस्था गरिएको छ । गुफाभित्र मोदीले रातभरि नै ध्यान गरे वा निदाए भन्ने खुलाइएको छैन । उनलाई गुफाभित्र रातिको खाना पठाइएको थियो ।

भारतीय लोकसभाको चुनावी प्रचार सकेर मोदी शनिबार बिहान केदारनाथ गएका थिए । उनी आइतबार उत्तराखण्डमै पर्ने अर्को धाम बद्रीनाथ जाने कार्यक्रम रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनको यो तिर्थाटनलाई निजी भ्रमण भनिएको छ ।

‘म भगवानसँग कहिले पनि केही माग्दिनँ, म यहाँ शान्ति, प्रार्थना र ध्यानका लागि आएको हुँ,’ आइतबार बिहान मोदीले सञ्चारकर्मीसँग भने ।

यसैबीच मोदी उम्मेदवार रहेको बनारसलगायत ५९ सिटमा आज लोकसभाका लागि मतदान हुँदैछ । आज हुने सातौं चरणको मतदानसँगै अप्रिल ११मा सुरू भएको भारतीय लोकसभाको मतदान प्रक्रिया सकिनेछ । भारतीय निर्वाचन आयोगले आगामी बिहीबार लोकसभा चुनावको मतपरिणाम सार्वजनिक गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement