भारतको चुनाव प्रभावित गर्न नेपाल भ्रमणमा आएका रहेछन् मोदी!

भारतको चुनाव प्रभावित गर्न नेपाल भ्रमणमा आएका रहेछन् मोदी!

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाै‌- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण (२८–२९ वैशाख) बारे भारतमै प्रश्न उठेको छ। उनको भ्रमणबारे नेपालको संघीय संसद्मा चर्काचर्की चलिरहेका बेला भारतका प्रमुख राजनीतिक दलबीच पनि आरोप–प्रत्यारोप सुरु भएको छ।

नेपाल भ्रमणका क्रममा मोदीले प्रमुख हिन्दु तीर्थस्थल जनकपुरधाम, पशुपति र मुक्तिनाथ भ्रमण गरेको विषयमा सत्ताधारी दल भारतीय जनता पार्टी र प्रतिपक्ष भारतीय राष्ट्रिय कंग्रेसबीच आरोप–प्रत्यारोप चलेको हो।

प्रतिपक्षी कंग्रेसले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका क्रममा भएको हिन्दु धार्मिक तीर्थाटनप्रति आपत्ति जनाएको छ । उक्त भ्रमण नेपालसँगको सम्बन्ध सुधार्नभन्दा कर्नाटकको चुनाव प्रभावित गर्न लक्षित भएको आरोप कंग्रेसको रहेको खबर आजको कान्तिपुर दैनिकमा सुरेशराज न्यौपानेले लेखेका छन्।।

कंग्रेसका महासचिव तथा वरिष्ठ नेता अशोक गहलोतले मोदीको भ्रमणलाई दक्षिण भारतीय राज्य कर्नाटकको चुनाव प्रभावित पार्ने नियतले गरिएको दाबी गरे । कर्नाटकका हिन्दु मतदाता प्रभावित गर्न मोदीले जनकपुर, पशुपति र मुक्तिनाथ दर्शन गरेको आरोप उनले लगाए।

राजस्थानका पूर्वमुख्यमन्त्री गहलोतले मोदीको नेपाल भ्रमणको साइत नियतवश नै कर्नाटक चुनावको समयमा पारिएको र निर्वाचन आचारसंहिताको धज्जी उडाइएको समेत बताए । सोही दलका प्रवक्ता टोम वडक्कनले पनि समयका हिसाबले मोदीको भ्रमणमाथि प्रश्न गर्ने प्रशस्त ठाउँ रहेको बताए।

‘भ्रमणलाई लिएर प्रश्न गर्ने प्रशस्त ठाउँ छ । यो विदेश मामिलासँग जोडिएको विषय भए पनि देशभित्र चुनावी प्रक्रिया चलिरहेका बेला भएको धार्मिक भ्रमणलाई सही मान्न सकिँदैन,’ उनले भने । गहलोतको भनाइको समर्थन गर्दै प्रवक्ता टोमले भने, ‘पार्टीको महासचिव भएकाले पनि उहाँले बोलेका कुरा पार्टीको आधिकारिक लाइनभन्दा फरक पर्दैन।’

भाजपाका प्रवक्ता नलिन एस कोहलीले भने गहलोतको आरोपको खण्डन गर्दै मुलुकको विदेश सम्बन्ध र देशभित्रको चुनावबीच कुनै सरोकार नभएको बताए।

कोहलीले भने, ‘मलाई विश्वास छ, गहलोतलगायत कंग्रेसका वरिष्ठ नेताहरू यसबारे जानकार छैनन् । उनीहरूको तर्कसँग सहमत हुने हो भने भारतमा बर्सेनि नियमित रूपमा धेरैवटा चुनाव हुने गर्छन् र त्यसो हो भने हाम्रा प्रधानमन्त्रीले कहिल्यै पनि छिमेकी मुलुकको भ्रमण गर्न पाउने छैनन्।’

भारतका प्रमुख राजनीतिक दलबीच नेपालका पवित्र तीर्थस्थललाई लिएर भएको आरोप–प्रत्यारोपको मुख्य कारण १२ मेमा सम्पन्न कर्नाटकको चुनावी परिणामले राख्ने दुरगामी महत्त्व पनि हो।

किनकि, राजनीतिक विश्लेषकहरूले कर्नाटक राज्यको चुनावको परिणामले भारतको केन्द्रीय राजनीतिको कोर्स नै बदल्न सक्ने आकलन गरेका छन् । त्यसैले पनि कंग्रेस र भाजपा दुवैले कर्नाटक चुनावलाई प्रतिष्ठाको विषय बनाएका छन्।

कंग्रेसले जित हासिल गरे उसको मनोबल उच्च हुने र उसकै पछाडि अन्य दल पनि २०१९ को लोकसभाका लागि बीजेपी सरकारविरुद्ध गोलबद्ध हुँदै जाने विश्लेषकहरूको दाबी छ । सत्तारूढ दल भाजपाले यो चुनावलाई दक्षिण भारतको प्रवेशद्वारका लिएको देखिन्छ । कर्नाटकमा जित हात पारे आगामी लोकसभा चुनावसम्म दक्षिण भारतीय राज्यहरूमा समेत आफ्नो प्रभाव विस्तार गर्दै लैजाने योजनामा भाजपा देखिन्छ।