काठमाण्डु – भारतको तल्लो सदन लोकसभाको १८ औँ निर्वाचनमा बहालवाला प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडिए) ले सरकार बनाउने निश्चित भएको छ । एनडीएले बुधबारमात्रै प्रधानमन्त्रीबाट राजीनामा दिएका मोदीकै नेतृत्वमा सरकार बनाउन लागेको हो ।
५४३ सिट रहेको लोकसभामा बहुमतका लागि २७२ सीट आवश्यक पर्छ । सत्तारुढ भाजपाबाट प्रधानमन्त्री मोदीसहित २४१ सांसद निर्वाचित भएका छन् । भाजपा नेतृत्वको गठबन्धन एनडीएले २९३ सिट जितेको छ ।
भारतमा नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि आइतबार शपथ लिदैछन् । उनले शपथ ग्रहण समारोहमा सहभागी हुन छिमेकी राष्ट्रका नेताहरूलाई आमन्त्रण गरेका छन् । मोदीले आफ्नो हरेक शपथ ग्रहण समारोहमा छिमेकी देशका नेताहरूलाई आमन्त्रण गर्दै आएका छन् ।
२०१४ मा पहिलो पटक प्रधानमन्त्रीको शपथ ग्रहणमा उनले सार्क राष्ट्रका राष्ट्रपति तथा प्रधानमन्त्री र २०१९मा दोस्रो पटक प्रधानमन्त्रीको शपथ ग्रहण लिँदा बिम्सटेक सदस्य राष्ट्रहरूलाई आमन्त्रण गरेका थिए ।
मोदीले तेस्रो पटक प्रधानमन्त्री पदको शपथ ग्रहण कार्यक्रममा पनि छिमेकी देशलाई आमन्त्रण गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालसहित श्रीलंकाका राष्ट्रपति रानिल विक्रमसिंघे, बंगलादेशकी प्रधानमन्त्री शेख हसीना, भुटानका प्रधानमन्त्री डासो छेरिङ टोग्वेलाई सपथ ग्रहण कार्यक्रममा आमन्त्रण गरिएको हो । यसका साथै मारिशसका प्रधानमन्त्री प्रबिन्दकुमार जगन्नाथलाई पनि आमन्त्रण गरिएको छ ।
मोदीले बुधबार नेपालका प्रधानमन्त्री दाहालसहित श्रीलंकाका राष्ट्रपति, बंगलादेशका प्रधानमन्त्री र भुटानका प्रधामनन्त्रीसँग टेलिफोनमार्फत आफ्नो शपथ ग्रहण समारोहमा आमन्त्रण गरेका थिए ।
प्रधामनन्त्री दाहालले मोदीले टेलिफोन वार्तामा शपथ ग्रहण कार्यक्रममा सहभागी हुन गरेको आमन्त्रणलाई स्वीकार गरेका छन् । यसका अतिरिक्त रूसका राष्ट्रपति भ्लामिदिर पुटिन, अमेरिकाका राष्ट्रपति जो बाइडेन, ब्रिटेनका प्रधानमन्त्री ऋषि सुनकलगायतले मोदीको तेस्रो कार्यकालका लागि शुभकामना पनि दिएका छन् ।
मोदीको पहिलो कार्यकालको शपथ ग्रहण समारोहमा नेपालबाट तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र दोस्रो कार्यकालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सहभागिता जनाएका थिए । पाकिस्तानका तत्कालीन प्रधानमन्त्री नवाज शरीफ, अफगानिस्तानका राष्ट्रपति हामिद करजई र श्रीलंकाका राष्ट्रपति महिन्द राजपक्षे पनि पहिलो शपथ ग्रहण कार्यक्रममा सहभागी भएका थिए ।




प्रतिक्रिया