प्रधानमन्त्री ओलीलाई स्वागत गर्न भारतको अरुचि तर नेपालमा धुमधाम तयारी

प्रधानमन्त्री ओलीलाई स्वागत गर्न भारतको अरुचि तर नेपालमा धुमधाम तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीको बहुप्रतिक्षित भारत भ्रमणमा भारतीय संस्थापनले अरुचि देखाएको छ ।

नेपाली पक्षले भारत भ्रमणका लागि धुमधाम तयारी गरिरहेका बेला भारतले भने अझै औपचारिक निम्तो पनि पठाएको छैन । अनौपचारिक रूपमा भदौ ३१ र असोज १ गते ओलीको भ्रमणका लागि मिति प्रस्ताव गरिएको थियो ।

भ्रमणको मितिमै छलफल चलिरहेका बेला भारतीय पक्षले प्रस्तावित मितिमै ओलीलाई स्वागत गर्न अरुचि देखाएको उच्च स्रोतले जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सचिवालय र सल्लाहकार टीमले ओलीलाई तत्कालै स्वागत गर्न नहुने सुझाव दिएको स्रोतको दाबी छ ।

‘ओलीको भारत भ्रमण पक्का भइसकेको होइन, २ दिवसीय भ्रमणको मिति प्रस्ताव मात्रै गरिएको हो, बाँकी औपचारिक प्रक्रिया केही सुरु भएको छैन,’ उच्च स्रोतले भन्यो, ‘ओलीको भ्रमण अझै विचाराधीन नै छ भन्ने बुझ्नुपर्‍यो ।’

प्रधानमन्त्री ओलीका तिखो अभिव्यक्तिका कारण भारतीय पक्ष असन्तुष्ट रहँदै आएको छ । उनी प्रधानमन्त्री भएको लामो समयसम्म पनि भारत भ्रमण हुन सकेको छैन । ओलीले भ्रमण भ्रमण गर्न चाहे पनि भारत सरकारले वास्ता नगर्दा भ्रमणमा ढिलाइ भएको हो ।

हालै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र ‘रअ’ स्टेसन चिफ अंशु शर्माले दिल्लीमा सरकारी प्रतिनिधिसँग भेटवार्ता गरेर फर्किएका छन् । भारतले राजदूतावासको डेपुटी चिफ अफ मिसन (डीसीएम) पनि फेरेको छ । यी घटनाक्रमले ओलीको भारत भ्रमण पर धकेलिने सम्भावना बढाएको स्रोतले जनाएको छ ।

ओलीको भारत भ्रमणको अनौपचारिक प्रस्तावकै आधारमा नेपालको  परराष्ट्र मन्त्रालयले भ्रमण टोलीको भारत जानेको सूची तयार गर्न पनि भ्याइसकेको छ । मन्त्रालय स्रोतका अनुसार २५ सदस्यीय भ्रमण टोलीमा प्रधानमन्त्री ओली, उनकी पत्नी राधिका शाक्य, मुख्य सल्लाहकार विष्णु रिमाल, आर्थिक सल्लाहकार युवराज खतिवडा, सचिवालय र सुरक्षाका रमेश बज्राचार्य, एडीसी, डीएसपी, निजी चिकित्सक, परराष्ट्रमन्त्री, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, ऊर्जा तथा सिँचाईमन्त्री, भौतिक पूर्वाधार मन्त्री, मुख्यसचिव, परराष्ट्र सचिव, गृह सचिव, एसिया हेर्ने सहसचिव, चिफ अफ प्रोटोकल, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जसपा नेपाल, जनमत पार्टी, लोसपा नेपालका १/१ सांसद, उद्योग वाणिज्य महासंघका अध्यक्ष र उद्योग परिसंघका अध्यक्ष जाने तयारी टोली तयार गरिँदैछ ।

भारत भ्रमणको तयारीका लागि परराष्ट्र मन्त्रालयले प्रस्ताव र एजेन्डाबारे पनि आन्तरिक तयारी थालिसकेको मन्त्रालय स्रोतले जनाएको छ ।