पाकिस्तानलाई एक्ल्याउने मोदीको रणनीति कसरी भयो असफल ?

पाकिस्तानलाई एक्ल्याउने मोदीको रणनीति कसरी भयो असफल ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रोष्ट्रमा मुट्ठी बजार्दै पाकिस्तानका नेताहरूमाथि सीधा चुनौती दिँदै भनेका थिए, ‘भारतले तपाईंहरूलाई अन्तर्राष्ट्रिय रूपमा अलग पार्न सफलता हासिल गरेको छ, र हामी ती प्रयासलाई अझ तीव्र बनाउनेछौँ ।’

मोदीले साँझ पर्न लाग्दा भारतको दक्षिणी राज्य केरलामा आयोजित समर्थकहरूको विशाल सभालाई सम्बोधन गर्दै भनेका थिए, ‘हामी सुनिश्चित गर्नेछौँ कि तपाईंहरू विश्वभर एक्लिनुहुनेछ ।’

यो घटना सन् २०१६ को सेप्टेम्बरको हो । भारत प्रशासित कश्मीरमा केही दिनअघि भएको आक्रमणमा १८ भारतीय सैनिक मारिएपछि मोदीले उक्त प्रतिक्रिया दिएका थिए । ‘पाकिस्तानका नेताहरूले सुनून्, हाम्रा १८ सैनिकको बलिदान खेर जाने छैन,’ भारतीय प्रधानमन्त्रीले भनेका थिए ।

तर त्यसको झण्डै एक दशकपछि पाकिस्तान अलग भएको या एक्लिएको खबर सुनिएको छैन, न त चर्चा नै भएको छ । तर पाकिस्तान भने चीन निकट रहेर रणनीतिक साझेदार बनेको छ, जहाँ पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफ अघिल्लाे साता बेइजिङको भ्रमणमा गएका थिए ।

साथै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा पाकिस्तान फेरि अमेरिकाको विश्वसनीय साझेदारका रूपमा उदाएको छ । पाकिस्तानका सेना प्रमुख असिम मुनिर र प्रधानमन्त्री शरीफ दुवैले पछिल्लो एक वर्षभित्र ह्वाइट हाउसमा ट्रम्पसँग भेट गरिसकेका छन् । साथै, इरानसँग जारी युद्धका क्रममा अमेरिका र इरानबीच पाकिस्तान प्रमुख मध्यस्थकर्ताको भूमिकामा छ । ट्रम्पले पनि बारम्बार पाकिस्तानी नेतृत्वको प्रशंसा गर्दै आएका छन् ।

विश्लेषकहरूका अनुसार यो आंशिक रूपमा ट्रम्पसँग सम्बन्ध सुधार्न पाकिस्तानले अपनाएको रणनीतिक सफलताको परिणाम हो । साथै, महत्त्वपूर्ण भूराजनीतिक घटनाहरूलाई अवसरका रूपमा प्रयोग गर्दै पाकिस्तानले आफूलाई विश्वशक्ति तथा क्षेत्रीय शक्तिहरूका लागि महत्त्वपूर्ण कूटनीतिक खेलाडीका रूपमा स्थापित गरेको छ ।

तर विश्लेषकहरू भन्छन्, ‘पाकिस्तानको बढ्दो कूटनीतिक हैसियतले मोदी सरकारका केही रणनीतिक कमजोरीहरू पनि उजागर गरेको छ ।’

एटलान्टिक काउन्सिलका दक्षिण एसिया विषयक वरिष्ठ फेलो माइकल कुगेलम्यानले अल जजीरासँग भने, ‘निश्चय नै, पाकिस्तानलाई क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरमा कमजोर बनाउने तथा अलग–थलग पार्ने भारतको रणनीति ठूलो रूपमा उल्टो परिणाम दिने खालको भएको छ ।’

युद्धविराम र नोबेल पुरस्कारको मनोनयन

१० मे २०२६ मा अमेरिकी राष्ट्रपति ट्रम्पले आणविक हतियार सम्पन्न भारत र पाकिस्तानबीच युद्धविराम गराउन सफल भएको घोषणा गरेका थिए ।

‘अमेरिकाको मध्यस्थतामा रातभर चलेको वार्तापछि भारत र पाकिस्तान पूर्ण तथा तत्काल युद्धविराममा सहमत भएका छन् भन्ने घोषणा गर्न पाउँदा म खुसी छु,’ उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लेखेका थिए ।

लगत्तै पाकिस्तानी प्रधानमन्त्री शरीफले चार दिनसम्म चलेको भीषण युद्ध अन्त्य गर्न भूमिका खेलेको भन्दै ट्रम्पको ‘नेतृत्व र सक्रिय पहल’को प्रशंसा गरे । ब्यालिस्टिक मिसाइल, लडाकु विमान र ड्रोन प्रयोग भएको उक्त युद्ध पछिल्ला दशकहरूमा भारत–पाकिस्तानबीचको सबैभन्दा गम्भीर सैन्य भिडन्त थियो । दुवै पक्षका दर्जनौँ मानिस मारिएका थिए ।

यो युद्ध भारतीय सेनाले पाकिस्तानभित्र रहेका भनिएका आतंकवादी ठेगानामाथि आक्रमण गरेपछि सुरु भएको थियो । त्यसअघि भारतीय प्रशासित कश्मीरमा बन्दुकधारीहरूले २६ पर्यटकको हत्या गरेका थिए ।

तर शरीफको विपरीत मोदी भने मौन बसे । केही महिनाअघि मात्रै ह्वाइट हाउसमा ट्रम्पसँग भेट गरेर व्यक्तिगत सम्बन्ध बलियो बनाएका मोदीले युद्धविरामको घोषणा हुँदा सार्वजनिक प्रतिक्रिया दिएनन्, जबकि भारतका विदेश सचिवले युद्धविराम भएको पुष्टि गरिसकेका थिए ।

केही दिनपछि ट्रम्पले कश्मीर विवाद समाधानका लागि भारत र पाकिस्तानसँग सहकार्य गर्न तयार रहेको बताए । सन् १९४७ मा बेलायती शासनबाट स्वतन्त्र भएपछि कश्मीर नै भारत–पाकिस्तान सम्बन्धको प्रमुख विवादको विषय रहँदै आएको छ ।

भारतका लागि ट्रम्पले आफूलाई नयाँ दिल्ली र इस्लामाबादबीचको शान्तिदूतका रूपमा प्रस्तुत गर्नु असहज विषय थियो । भारतले लामो समयदेखि आफ्ना छिमेकीसँगका विवादहरू द्विपक्षीय माध्यमबाट मात्रै समाधान हुनुपर्ने अडान राख्दै आएको छ ।

जुन महिनामा क्यानडा भ्रमणमा रहेका मोदीलाई ट्रम्पले वाशिङ्टन आउन निम्तो दिएका थिए । मोदीले त्यो प्रस्ताव अस्वीकार गरे । बरु उनले टेलिफोन वार्तामार्फत भारतले कुनै तेस्रो पक्षको मध्यस्थता स्वीकार नगर्ने र मे महिनाको युद्धविराम केवल भारत–पाकिस्तानबीचको प्रत्यक्ष संवादको परिणाम भएको बताएका थिए ।

तर युद्धविरामको श्रेय कसले लिने भन्ने विवाद जारी रह्यो । ट्रम्पले त्यसयता ३० भन्दा बढी पटक आफूले भारत–पाकिस्तान युद्धविराम गराएको दाबी गरिसकेका छन् । उनले सम्भावित आणविक युद्ध रोकेर लाखौँ मानिसको ज्यान बचाएको दाबी पनि गरेका छन् । साथै, युद्धको पहिलो दिनमै भारतीय लडाकु विमानहरू खसालिएको भन्ने पाकिस्तानको दाबीलाई समेत ट्रम्पले समर्थन गरे ।

विश्लेषकहरूका अनुसार मे २०२५ को युद्ध निम्त्याउने पहलगाम आक्रमणमा पाकिस्तानको संलग्नता रहेको प्रमाण भारतले अन्तर्राष्ट्रिय समुदायलाई विश्वस्त पार्न सकेन ।

कुगेलम्यान भन्छन्, ‘विश्वले भारतलाई आक्रमण गर्न प्रोत्साहन गरेन । विभिन्न देशहरूले भारतले पहलगाम आक्रमणमा पाकिस्तानको संलग्नताको कुनै ठोस प्रमाण सार्वजनिक नगरेको कुरा नोट गरे ।’ उनका अनुसार पाकिस्तानले ‘वैश्विक कथनको लडाइँ’ जित्न सफल भयो ।

उनले थपे, ‘पाकिस्तानले युद्धमा आफ्नो क्षमता प्रदर्शन गर्दै भारतीय लडाकु विमानहरू खसालेको दाबी विश्वभर, विशेष गरी ह्वाइट हाउसमा, निकै चासोका साथ हेरियो ।’

भारतीय विमान खसालिएको विषयमा नयाँ दिल्लीले झण्डै तीन सातासम्म मौनता अपनाउनु पनि पाकिस्तानको दाबीलाई बल पुग्ने कारण बन्यो । पछि भारतका उच्च सैनिक अधिकारीले केही लडाकु विमान खसालिएको स्वीकार गरे, यद्यपि संख्या भने सार्वजनिक गरिएन ।

विश्लेषकहरूका अनुसार युद्धविरामको श्रेय ट्रम्पलाई दिन मोदीको अनिच्छाले अमेरिका–भारत सम्बन्धमा पनि तनाव उत्पन्न ग¥यो ।
यसको विपरीत पाकिस्तानले युद्धविराममा ट्रम्पको भूमिकाको खुलेर प्रशंसा ग¥यो र उनलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनयनसमेत गर्‍यो । ट्रम्पले आफैंले पनि उक्त पुरस्कार आफूले पाउनुपर्ने बताउँदै आएका छन् ।

आफ्नो पहिलो कार्यकालमा पाकिस्तानमाथि धोका र झुटको आरोप लगाएका ट्रम्प अहिले भने पाकिस्तानी नेतृत्वको प्रशंसामा उदार देखिन्छन् । विशेषगरी भारतसँगको युद्धमा नेतृत्वदायी भूमिका खेलेका सेना प्रमुख असिम मुनिरको उनले खुलेर प्रशंसा गरेका छन् ।

भारतको असन्तुष्टिबीच ट्रम्पले मुनिरलाई ह्वाइट हाउसमा भोजनका लागि आमन्त्रित गरे । राष्ट्रपति नभएका कुनै पाकिस्तानी सेनाप्रमुखलाई अमेरिकी राष्ट्रपतिले यसरी स्वागत गरेको यो पहिलो अवसर थियो ।

ट्रम्पले मुनिरलाई आफ्नो ‘मनपर्ने फिल्ड मार्शल’ र ‘असाधारण व्यक्तित्व’ भनेर वर्णन गरेका छन्, जबकि भारतले उनलाई भारतविरुद्धको ‘आतंकवाद’का प्रमुख योजनाकारमध्ये एकका रूपमा चित्रित गर्दै आएको छ ।

दशकौँसम्म भारतले पाकिस्तानप्रति ‘रणनीतिक संयम’को नीति अपनाएको थियो । सन् १९९० को दशकमा अर्थतन्त्र खुला गरेपछि भारतले आफूलाई आर्थिक विकासमा केन्द्रित जिम्मेवार उदाउँदो शक्तिका रूपमा प्रस्तुत ग¥यो । उसले कूटनीति र आर्थिक प्रभावमार्फत पाकिस्तानमाथि दबाब सिर्जना गर्ने नीति लियो, किनकि दुई आणविक शक्तिबीचको पूर्ण युद्धबाट बच्न भारत इच्छुक थियो ।

यही नीतिका कारण भारतमा कांग्रेस नेतृत्वको सरकारले २००८ को मुम्बई आतंकवादी आक्रमणपछि पनि पाकिस्तानमाथि प्रत्यक्ष सैन्य कारबाही गरेन । तर विपक्षमा रहेको मोदीको भारतीय जनता पार्टी (भाजपा) ले त्यसबेला कांग्रेसको उक्त संयमको कडा आलोचना गरेको थियो ।

सत्तामा पुगेपछि मोदीले सुरुमा पाकिस्तानसँग सम्बन्ध सुधार्ने प्रयास गरेका थिए । उनले तत्कालीन पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफलाई आफ्नो शपथग्रहण समारोहमा निमन्त्रणा दिएका थिए र शरीफकी नातिनीको विवाहमा सहभागी हुन लाहोरसमेत पुगेका थिए ।

तर २०१६ देखि पाकिस्तानलाई दोष दिइएका ठूला आक्रमणहरूपछि नयाँ दिल्लीले आफ्नो नीति परिवर्तन ग¥यो । त्यही परिवर्तनको सन्दर्भमा मोदीले पाकिस्तानलाई अन्तर्राष्ट्रिय रूपमा एक्ल्याउने घोषणा गरेका थिए ।