बुद्ध जयन्तीकै दिन मोदीले भने, ‘भारत बुद्धको देश हो’


काठमाडौं–विश्वरभर बुद्ध जयन्ती मनाइरहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘भारत बुद्धको देश’ भएको बताएका छन्।

२०७३ मा भियतनाम पुगेर ‘बुद्धको भूमि भारत’ रहेको बताएका मोदीले सोमबार भारतको राजधानी नयाँदिल्लीमा आयोजित कार्यक्रममा उनले भने, ‘आज विश्वमा भारतको सर्वश्रेष्ठ परिचय हाम्रो भौतिक क्षेत्रमा भएको प्रगतिको साथैं हामी बुद्धको देश भएको कुराले पनि संसारमा भारतको महात्म्य बढाएको छ।’

भारतको भूमिबाट गौतम बुद्धले दिएको सन्देश आज संसारले अनुशरण गरेको उल्लेख गर्दै मोदीले गौतम बुद्ध भारतको संस्कृति र धरोहर भएको बताउँदै त्यसको रक्षाको लागि आफुहरु लागेको बताए।

सोमबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धको जन्मस्थलबारे विवाद र बहस गर्न आवश्यक नभएको बताएका थिए।

२५६२ औं बुद्ध जयन्तीका अवसरमा लुम्बिनी विकास कोषले लुम्बिनीमा सोमबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले बुद्ध नेपालमै जन्मिएको दोर्होयाउँदै दोधार हुन आवश्यक नभएको बताए। ‘किनभने भारतका सम्राट अशोकले पनि अशोक स्तम्भ बनाएर बुद्ध नेपालै जन्मिएका भनेर गएका छन्,’ प्रधानमन्त्रीको प्रश्न थियो, ‘किन बुद्धको जन्मबारे मान्छेले भ्रम फिजाउँछन् ?’

प्रतिक्रिया दिनुहोस
Advertisement