विपिनलाई श्रद्धाञ्जलि दिँदै परराष्ट्र मन्त्रालयले भन्यो– शव ल्याउन पहल गर्दैछौं

विपिनलाई श्रद्धाञ्जलि दिँदै परराष्ट्र मन्त्रालयले भन्यो– शव ल्याउन पहल गर्दैछौं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – परराष्ट्र मन्त्रालयले इजरायलमा मारिएका नेपाली विद्यार्थी विपिन जोशीको शव नेपाल ल्याउन आवश्यक पहल सुरु गरिएको जनाएको छ ।

मंगलबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले जोशीको मृत्युबारे सत्यतथ्य पत्ता लगाउन सबै तहबाट प्रयास जारी राख्ने प्रतिबद्धता जनाएको हो ।

मन्त्रालयका अनुसार जोशीको शवको परीक्षण र डीएनए नमूना जाँच इजरायलस्थित सैनिक अस्पतालमा सम्पन्न भइसकेको छ । परीक्षणले जोशीकै शव भएको पुष्टि गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

तेल अभिभस्थित नेपाली दूतावासमार्फत इजरायली अधिकारीहरूसँग समन्वय गरी शव नेपाल ल्याउने तयारी सुरु भइसकेको मन्त्रालयको भनाइ छ । ‘विपिन जोशीको शव नेपाल ल्याइसकेपछि पनि उनको मृत्युको वास्तविक कारण र परिस्थितिका सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन, न्याय दिलाउन र परिवारले पाउने क्षतिपूर्ति तथा सुविधा सुनिश्चित गर्न आवश्यक पहल जारी राखिनेछ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

परराष्ट्रसचिव अमृतबहादुर राईले मंगलबार इजरायली विदेश मन्त्रालयका महानिर्देशक एडन बार तालसँग टेलिफोन संवाद गर्दै शव शीघ्र पठाउन आग्रह गरेका छन् । जवाफमा उनले जोशीको शव नेपाल पठाउन आवश्यक सबै व्यवस्था इजरायली सरकारले मिलाउने प्रतिबद्धता जनाएका बताइएको छ ।