काठमाण्डु – परराष्ट्र मन्त्री बालानन्द शर्माले इजरायलमा कृषि क्षेत्रमा कार्यरत नेपाली कामदारहरूको सुरक्षाबारे विभिन्न टीकाटिप्पणी भए पनि आवश्यक सुरक्षा व्यवस्था रहेको बताएका छन् ।
बुधबार परराष्ट्र मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङमा बोल्दै मन्त्री शर्माले इजरायलका धेरै कृषि क्षेत्रमा बंकर (सुरक्षा आश्रय) उपलब्ध रहेको दाबी गरे । उनले आफू स्वयं त्यहाँ पुगेर बंकरको अवस्था अवलोकन गरेको बताउँदै इजरायली पक्ष यस विषयमा गम्भीर रहेको उल्लेख गरेका हुन् ।
उनले भने, ‘इजरायलमा एग्रिकल्चरमा काम गर्नेलाई बंकर उपलब्ध छैन भन्ने कुरा धेरै सुनिएको छ तर धेरै कृषि क्षेत्रमा बंकर छन् । म आफैं गएको छु, देखेको छु र केही बंकरमा बसेर पनि आएको छु । यस विषयमा इजरायलीहरू गम्भीर छन् ।’
मन्त्री शर्माले विदेशमा रहेका नेपाली नागरिकको सुरक्षाप्रति सरकार पूर्ण रूपमा जिम्मेवार रहेको स्पष्ट पार्दै आवश्यक परे उद्धार गर्न सरकार तयार रहेको बताए ।
‘हाम्रा नागरिक बाहिर अलपत्र परे भने ल्याउन सक्दिन भन्न पाइँदैन । ३० लाख नेपाली पश्चिम एशियामा छन्, उनीहरूको सुरक्षाका लागि योजना बनाएर अघि बढ्नुपर्छ र राज्यलाई निरन्तर सक्रिय बनाउनुपर्छ,’ उनले भने ।
यसैबिच परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले पश्चिम एशियामा विकसित घटनाक्रमलाई मन्त्रालयले नजिकबाट नियालिरहेको जानकारी दिए । उनले हालसम्म उक्त क्षेत्रमा रहेका नेपाली नागरिक सुरक्षित रहेको बताएका छन् ।
सचिव राईका अनुसार तत्कालै नेपाली नागरिकलाई उद्धार गरेर स्वदेश फर्काउनुपर्ने जस्तो जोखिमपूर्ण अवस्था अहिलेसम्म देखिएको छैन ।
‘अहिलेसम्मको हाम्रो विश्लेषणअनुसार सुरक्षाकै दृष्टिकोणबाट त्रास, डर वा जीवनमाथिको जोखिम उत्पन्न भएर तत्काल उद्धार गरी ल्याइहाल्नुपर्ने अवस्था छैन,’ उनले भने ।
परराष्ट्र मन्त्रालयले पश्चिम एशियामा रहेका नेपाली कूटनीतिक नियोगहरूसँग दैनिक रूपमा बिहान र बेलुका गरी २ पटकसम्म सम्पर्क गरिरहेको पनि उनले बताए । सरकारद्वारा गठन गरिएको ‘इमर्जेन्सी रेस्पोन्स टीम’को बैठकले गरेका निर्णयहरू त्यहाँ रहेका नेपाली नियोगमार्फत निरन्तर कार्यान्वयन भइरहेको उनको भनाइ छ ।
सचिव राईले नेपालमा रहेका परिवारजन र पश्चिम एशियामा बसोबास गर्ने नेपालीहरूलाई अनावश्यक रूपमा विचलित वा चिन्तित नहुन आग्रह गरेका छन् ।
सरकारले नागरिकको उद्धार गर्न नसक्ने हो कि भन्ने आशंका निराधार भएको बताउँदै सचिव राईले सरकार आफ्नो नागरिकको सुरक्षा र उद्धार गर्न पूर्ण रूपमा सक्षम रहेको दाबी गरे । उनका अनुसार आवश्यक अवस्था आएमा सरकारले जुनसुकै हालतमा पनि नेपाली नागरिकको उद्धार गर्नेछ ।




प्रतिक्रिया