काठमाण्डु– परराष्ट्रसचिव भरतराज पौडयालको गलत नियत राखेर लामो समयदेखि विदेशस्थित तीन ठुला नियोगमा उपप्रमुख खाली राखेको खुलासा भएको छ । पौडेलले आफु निकट कर्मचारीलाई पठाउनकै लागि चीन, भारत र न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघ (यूएन) मा सहसचिवस्तरीय नियोग उपप्रमुख खाली राखेका हुन् ।
सचिव पौड्यालले यो हर्कतबाट परराष्ट्रमा उनको आलोचना बढिरहेको छ । उनि आफु राजदूत जान हप्तै पिच्छे शक्तिकेन्द्र धाउने गरेका छन् । तर, मन्त्रालयको काममा भने उनले कम ध्यान दिने गरेको स्रोत बताउंछ । त्यतिमात्र होईन कर्मचारीलाई पनि शक्तिका आधारमा उनले जिम्मेवारी दिने गरेको बताइन्छ ।
न्युयोर्क, बेइजिंग र नयां दिल्ली तिनै नियोग नेपालका लागि निकै महत्वपूर्ण छन् । त्यहां काम गर्ने कर्मचारीहरुको संख्या समेत कम हुने भएकाले उपनियोग प्रमुख खाली नराख्ने प्रचलन विपरित पौड्यालले निकट कर्मचारीलाई पठाउन महिनौदेखि खाली राखेका हुन् ।
पौड्यालले लामो समयदेखि कर्मचारी नपठाउंदा परराष्ट्रका कर्मचारीहरु आश्र्चयमा छन् । उनले यो गलत काम गरिरहंदा परराष्ट्र सचिव हुंदै मुख्यसचिव बनेका शंकरदाश वैरागी समेत उनको गतिविधि टुलुटुलु हेरेर बसेका छन् । वैरागी समेत पाए अख्तियार नपाए राजदूत बन्न शक्तिकेन्द्रकोमा धाइरहेका छन् ।
न्यूर्याकमा त दुई वर्षभन्दा बढी समयदेखि उपनियोग प्रमुख खाली छ । सहसचिव घनश्याम भण्डारी त्यहाबाट फर्केर करिव ६ महिना क्षेत्रिय संगठन महाशाखा प्रमुख भएर पनि अहिले बंगलादेशमा राजदूत छन् । तर,अहिलेसम्म सचिव पौडेलले त्यहां उपप्रमुख पठाउन सकेका छैन् ।
पौड्याल आफै त्यहां राजदूत भएर जान खोजिरहेका छन् । उनले आफु राजदूतमा जाने र आफु निकट उपसचिव सहसचिवमा बढुवा भएसंगै उनलाई लिएर जाने तयारी रहेको परराष्ट्र स्रोतले बतायो । तर, उनले लिन खोजेका उपसचिवको सहसचिवमा नाम ननिस्केपछि उनि अफ्ठेरोमा परेका छन् ।
उनले तत्कालिन परराष्ट्रमन्त्री विमला राई हुंदा आफुसहित सात जना राजदूतको नाम सिफारिस गरेका थिए । जसमा आफ्नो नाम न्युयोर्क,लोकबहादुर थापाको क्यानडा र रामप्रसाद सुवेदीको जेनेभा राखेर पठाएपनि प्रधानमन्त्री पुष्पकमल दाहालले रोकेका थिए । दाहाल कांग्रेससंगको समिकरणमा लागेपछि परराष्ट्रमन्त्रीले मन्त्रिपरिषद बैठकमा तीन चोटी राजदुत नियुक्त गर्न खोज्दा समेत असफल भएकी थिईन ।
पौड्यालले हाल न्युयोर्कमा रहेका राजदूत अमृतकुमार राईसंगको प्रतिसोध सांध्न र त्यहां जान वरियतामा अघि रहेका सहसचिव आफुलाई मन नपरेकाले पठाउन नखोजेको स्रोत बताउंछ । पौड्याल यसअघि नै न्युयोर्क जाने तयारीमा भएपनि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले राईलाई न्युयोर्क पठाएदेखि नै दुवैविच सुमधुर सम्बन्ध छैन ।
न्युयोर्कका लागि चीनबाट फर्केका सहसचिव कौशल किशोर राय र राहदानी विभागका महानिर्देशक सुरेन्द्र यादव लाइनमा छन् । तर, दुवै जनालाई पौडयालले पठाउन खोजेका छैनन् । यादव न्युयोर्क नपाएर भारत जानेमा छन् । उसो त सहसचिव रिता धितालले आफ्नो पारिवारिक समस्या देखाएर भारत पठाइदिन आग्रह गरेको स्रोत बताउंछ ।
राय अहिले उपनियोग प्रमुख छोडेर राजदूत हुन लविङमा लागेका छन् । उनि राजदूत नियुक्ती समावेशी हुनुपर्ने भन्दै शक्तिकेन्द्र धाइरहेका छन् । रायले बेइिजंग र कायरोमा यसअघि कार्यबाहक राजदूत भएर चलाइसकेकाले पनि आफुले राजदूत पाउनुपर्ने भन्नेमा रहेको स्रोत बताउंछ ।
परराष्ट्रबाट अहिले नियुक्त हुने राजदूतहरु पौड्याल, थापा, धनबहादुर ओली, सुधीर भट्टराई,घनश्याम लम्शाल,तेजबहादुर क्षेत्री र रामप्रसाद सुवेदी सबै ब्राहमण क्षेत्री हुन् । अहिले यूएई,थाइल्याण्ड, कुवेत,क्यानडा, फ्रान्स, न्युयोर्क र जेनेभा खाली छ । न्युर्याकका लागि पूर्व मन्त्री समेत रहेका सुनिल बहादुर थापा समेत दौडमा रहेको स्रोतले जानकारी दियो ।
राय अहिले सानो मुलुकमा भएपनि राजदूत हुने लाइनमा छन् । नेपालको संविधानको धारा २८२ ले समावेशी सिद्धान्तको आधारमा राजदूत नियुक्त गर्नुपर्ने उल्लेख छ । यसअघि संसदको संसदिय सुनुवाई समितिले समेत समावेशी सिद्धान्तअनुसार राजदुत नियुक्त गर्न ध्यानआकर्षण गराइसकेको छ । यदी यो सिद्धान्तअनुसार नियुक्ती भयो भने सहसचिवहरु राय, सुरेन्द्र यादव र रिता धितालको राजदूत बन्ने सम्भावना छ ।
परराष्ट्रसचिवले न्युयोर्क मात्र हैन भारत र चीनमा समेत ६ महिनादेखि उपनियोग प्रमुख खाली राखेका छन् । दिल्ली र वेइजिङस्थित राजदूतले सचिव पौड्याललाई उपनियोग प्रमुख नहुंदा समस्या भएको भन्दै छिटो पठाउन ताकेता गरेपनि उनले अनेक वहाना वनाएर खाली राखेको गुनासो छ । भारतबाट सहसचिवहरु रामप्रसाद सुवेदी फर्केको र कौशल किशोर राय समेत बेइजिंबाट फर्केको लामो समय भइसकेको छ ।
राजदूतावासमा नियोग उपप्रमुखहरुको भुमिका ठुलो हुने भएकाले पनि लामो समय रिक्त राख्नु राम्रो नभएको कूटनीतिक मामिलाका जानकारहरु बताउंछन् । अहिले नेपालको ३० देशमा दूतावास र तीन देशमा स्थायी नियोग छ । जसमध्ये चार नियोगमा सहसचिव पद रहेको छ ।
यसबारेमा परराष्ट्रसचिव पौड्याललाई टेलिफोन गर्दा उनले टेलिफोन उठाएनन् । पौड्यालले नियोगमा उपप्रमुख रिक्त मात्र नराखेर सहसचिवहरुलाई समेत जिम्मेवारीविहिन वनाएका छन् । जिम्मेवारी विहिन हुने सहसचिवहरुमा यूएईबाट राजदूतको जिम्मेवारी सकेर फर्केका कृष्णप्रसाद ढकाल,लक्ष्मण खनाल,शरदराव आरन र सुरेन्द्र थापा रहेका छन् ।




प्रतिक्रिया