लुम्बिनी प्रदेशमा चार जना सांसदलाई पार्टी र प्रदेशसभा सदस्यबाट निस्काशन गरेपछि जनता समाजवादी पार्टी फुटको संघारमा पुगेको छ । पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषदका अध्यक्ष बावुराम भट्टराईले बहुमतको आधारमा चारै जनालाई पार्टीको अनुशासन नमानेको भन्दै पदमुक्त गर्ने निर्णय गरेपछि जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो उक्त निर्णय अवैधानिक भएको भन्दै निर्वाचन आयोगको ढोकासम्म पुगेका छन् । त्यतिमात्र होईन निलम्बनमा परेका सांसदहरुले आफुहरुमाथी गरिएको कार्वाही नियमसंगत नभएको भन्दै सर्वोच्चसम्म पुगेका छन् ।
यसअघि पार्टी र संसदिय दल दुवैमा अल्पमतमा रहेका यादव एकाएक बहुमतमा पुग्नुको पछाडी पुर्व समाजवादी पार्टीका प्रभावशाली नेताहरु मोहम्मद इस्तियाक राई,रेणु यादव र प्रदिप यादवको भुमिका रहेको बताइन्छ । यसअघि उनिहरु तिनै जनाको समुह अध्यक्ष यादवसंग असन्तुष्ट भएर ठाकुरसंग सहकार्य गरिरहेको थियो । तर, लुम्बिनीमा त्यही प्रदेशका अर्का नेता सर्वेन्द्रनाथ शुक्लले पार्टीको निर्णयविपरित अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका सांसदहरुलाई मन्त्रीको सपथ खान पठाउनको लागी भुमिका खेलेपछि राईको समुह ठाकुरसंग चिढिएको छ । त्यही मौंकाको फाईदा अल्पमतमा परेका यादवले उठाएपछि जसपामा उनको पल्ला भारी भएको हो । यही सन्र्दभमा हामीले पुर्व शहरी विकासमन्त्री एवंम् जसपाका प्रभावशाली नेता इस्तियाक राईसंग कुराकानी गरेका छौं । यस्तो छ कुराकानीको सम्पादित अंश :
लुम्बिनी प्रकरणपछि जसपाभित्रको विवाद चरम उत्कर्षमा पुगेको छ । यसलाई तपाईले कसरी हेर्नुभएको छ ।
–जसपाभित्र खास गरेर कुनै विवाद होईन । जसपाको बिवाद सुरुदेखी नै के थियो भने । फागुन २३ गतेको जुन घटनाक्रम भयो । नेकपालाई सर्वोच्च अदालतले छुट्याएपछि राजनीतिक कोर्स नै परिवर्तन भयो । महन्थ ठाकुर र राजेन्द्र महतो एउटा पक्ष भनौ । उहांहरु पार्टीको निर्णय विना प्रधानमन्त्री केपी शर्मा ओलीसंग वार्ता गर्न लाग्नुभयो । त्यो वास्तवमा पार्टी लाईन विपरित थियो । त्यसपछि बिवाद चुलिएको हो ।
यसमा विवाद के थियो भने सुरुदेखी नै पांच सदस्यीय पदाधिकारी बैठकमा कार्यकारिणी बैठक राखौं भन्ने थियो । तर, पार्टीको लाईन के हुने,कुन मुद्दाको आधारमा कुरा गर्ने, निर्णय त पार्टीले गर्ने हो नी । तर, बैठक तोकेर पनि उहांहरु आफ्नै ढंगले हिड्नुभयो ।
जो संग मिलेपनि, कुराकानी गरेपनि । प्रधानमन्त्री ओलीसंग भएपनि, प्रचण्ड माधवसंग भएपनि कुन मुद्दाको आधारमा कुरा गर्ने हो । त्यो मुद्दाको छिनोफानो नगरी आफ्नो व्यक्तिगत गोजीबाट मुद्दा निकालेर उहांहरु कुराकानी गर्न थालियो । त्यसैको विरोधाभाष सुरुदेखी नै थियो ।
तर,पछिल्लो समयमा लुम्बिनी प्रदेश संसदिय दलले यही वैशाख ६ गते त्यहांका सांसदहरुले आफै ह्विप लगाउने र मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने र अविश्वासको प्रस्तावको पक्षमा उभिने निर्णय गरे । त्यो भन्दा पहिले चैत २६ गते प्रदेश समिति र संसदिय दलको संयुक्त बैठकबाट समेत निर्णय गरेर ह्विप लगाउने र अविश्वासको प्रस्तावको पक्षमा उभिने भनेर निर्णय भएको छ । त्यो निर्णय भइसकेपश्चात १ बजे अविश्वासको प्रस्ताव दर्ता गराएर ४ वजे ४ जनाले मन्त्रीको सपथ खाएपछि बिवाद उत्पन्न भएको हो ।
त्यो बिवाद उत्पन्न भइसकेपछि । खास गरेर बिवाद उत्पन्न नभनौ न । आफै निर्णय गरेर आफै उल्लंघन गर्ने । आफै धामी आफै झांक्रि बन्ने । आफै कानुन बनाउने आफै उल्लंघन गर्ने । यस्तो काम भएपछि त्यो त कानुनी दायरामा आउने भयो । अनुशासनको दायरमा आउने त भयो नै । त्यही दिन प्रदेशले केन्द्रिय समिति र संसदिय दललाई जानकारी गरायो । अनि केन्द्रिय समितिले स्पष्टिकरणको लागी अबिलम्ब प्रतियोजित अधिकार प्रदेश समितिलाई दियो ।
राजनीतिक दलसम्बन्धी ऐन दफा २८ को ३ बमोजिम दलले जानकारी गरायो । २८ को ३२ को २ बमोजिम जानकारी प्राप्त भइकक ३ र ४ बमोजिम समिति गठन गरी प्रतिवेदन र छानविन गर्ने र स्पष्टिकरण र सफाईको मौका दिने भन्ने धारा प्रयोग गरी सम्पुर्ण कामको प्रत्योजित अधिकार प्रदेश कमिटीलाई दिईयो । र प्रदेश कमिटीले छानविन गरेर ६ गते नै विज्ञप्ती निकाल्यो । र स्पष्टिकरण सोध्यो । फेरी ८ गते ताकेता पनि गर्यो । उहांहरुको पिजन हलमा राखियो । उहांहरुको सम्बन्धीत मन्त्रालयमा ईमेल गरियो,म्यासेज गरियो । तर,उहांहरुले कुनै पनि वास्ता गर्नुभएन ।
पार्टीकै माथिल्लो तहबाट कुनै नेताको प्रोत्साहनमा उहांहरुले सपथ खाएको देखियो । उहांहरुले पार्टीको निर्णय अटेर गर्नुभयो । त्यसपछि १४ गते ६ जना बसेर बैठक बसौं र आज निर्णय गरौ र अरु निर्णय नभएपनि आधिकारीक लाईनको एउटा निर्णय गरौ भन्ने थियो । यो हाम्रो लाइन हो,जोसंग पनि वार्ता गर्ने र लुम्बिनी प्रदेशमा पार्टीको ह्विप उल्लंघन गर्नेलाई कार्वाही गरौं भन्दा उहांहरुले तपाईहरुले गर्नुछ भने गर्नुहोस हामी चांही बस्दैनौ भन्नुभयो । अव ५३ सदस्यिय व्यवस्था छ कार्यकारिणीको । ५१ सदस्यिय गठन भइसकेको र एक जना जेल परेकोले ५० जना छ ।
अव कोहीले गर्दा पुरै पार्टीलाई दुई महिनादेखी बन्धक बनाउन सकिदैन । तसर्थ त्यहां बहुमत कार्यकारिणी सदस्यहरुको उपस्थितीमा सर्वसम्मत निर्णयले पार्टीको नियम,पार्टीको निती,पार्टीको सिद्धान्त, पार्टीको निर्णय,दलको निर्णय,ह्विप र स्पष्टिकरण लगाएको उल्लंघन गरेको र ह्विप उल्लंघनसम्बन्धी स्पष्टिकरणको प्रतियोजित अधिकारबमोजिम स्पष्टिकरण सोध्दा पनि अटेर गरेको,ताकेता गर्दा पनि अटेर गरेको,कुनै सफाईको मौका पेश नगरेको कारणले राजनीतिक दलसम्बन्धी ऐन दफा ३२ को ५ बमोजिम पार्टीको सदस्य र सांसद पदबाट निष्काशन गर्ने निर्णय गरेर हामीले पठाएको हौं । यो बैधानिक निर्णय हो ।
जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ राजेन्द्र महतोले तपाईहरुले गरेको निर्णय अवैध हो । र माईनट पनि पुराना प्रयोग भएको भनिरहनुभएको छ । उहांहरु निर्वाचन आयोगमा समेत जानुभएको छ । मन्त्रीहरु पनि अदालत पुग्नुभएको छ । यो बारेमा तपाई के भन्नुहुन्छ?
–एउटा कुरा उहांहरुलाई के थाहा हुनुपर्यो भने निर्वाचन आयोगले यससम्बन्धमा बोल्ने ठाउं नै छैन । पार्टीको आधिकारीतासम्बन्धी बिवाद भयो भने त्यसको बारेमा बोल्ने हो । तर,प्रदेश पार्टीबाट निकाल्ने,कार्वाही गर्ने र तिनलाई प्रदेश समितिबाट अनुशासनको कार्वाही गर्ने भन्ने अधिकार सम्पुर्ण केन्द्रिय समितिलाई छ । केन्द्रिय समितिले त्यही अधिकारको प्रयोग गरेको हो । माइन्युट चोरीको कुरा गर्नुहुन्छ भने हाम्रो जनता समाजवादी पार्टीको कार्यालय बालकुमारीमा छ । र बैठक पनि त्यही बसेको हो । त्यसैले माइन्युट पनि बालकुमारीमै थियो । अनि चोरी गर्ने कुरै भएन । अदालत जाने जहांसम्मको कुरा छ अदालत त खुल्ला छ नी । चित्त नबुझेपछि न्यायका लागी अदालत जान सकिन्छ ।
तपाईहरुको दुवै पक्षको कुरा सुन्दा के अव जसपा बिभाजन भइसकेको हो भनेर बुझ्दा हुन्छ ?
–होईन यो विभाजन हैन । यो त के भएको हो भने हामीले अनुशासनहिन कामहरुलाई रोक्ने काम गरेका छौं । भोलीको दिनमा प्रदेश कमिटीका सांसदले आज ह्विप नमानेर उल्लंघन गर्यो मन्त्रीको सपथ खाइदिए । भोली स्थानिय तहका प्रतिनिधीहरुले यस्तै गरे ।
पांच नम्बरको जस्तै २ नम्बरमा होला । संघमा होला । जस्को जे मन लाग्यो त्यही । कोहीलाई केपी ओलीको सरकारमा सपथ खाइदिन्छ कोही अरुको सरकारमा सपथ खाइदिन्छ । पार्टीलाई वास्ता नै गर्दैन । त्यस्तो कुरा हुंदैन । पार्टी भनेको पार्टी पद्धतीमा हिड्नुपर्छ ।
पार्टीको विधानको संक्रमणकालिन धारा ४७ ले के भनेको छ भने बहुमत सदस्यहरुको उपस्थितीमा सकेसम्म सर्वसम्मत सर्वसम्मत नभएको खण्डमा लेनिनवादी पद्धतीबमोजिम बहुमतको आधारमा निर्णय गर्न सक्ने प्रष्ट व्यवस्था छ । र बहुमतको निर्णयलाई अल्पमतले मान्नुपर्छ । मेरो आग्रह उहांहरुलाई के छ भने बहुमतको निर्णय उहांहरुले मानेर अगाडी बढौं र यही राम्रो हुन्छ । अनुशासन नमान्नेहरुलाई बन्देज लगाउनुपर्छ ।
जसपाभित्र प्रष्ट दुई लाईन देखा परिरहेका छन् । केहीदिनअघि मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले मुद्दाहरु फिर्ता लिनुभएको थियो । अरु मुद्दाहरु पनि सम्बोधनको क्रममा छन् । तपाईहरुको पक्ष (उपेन्द्र बावुराम)ले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासंग पनि वार्ता गरिरहेको छ । अव के ओली सरकारमा जाने तपाईहरुको ढोका बन्द भएको हो ?
–म एउटा तपाईहरुलाई के भनौ भने,तपाईले जुन तपाईहरुको अध्यक्ष भनेर भन्नुभयो । हाम्रो अध्यक्ष त महन्थ ठाकुर पनि हुनुहुन्छ । वरिष्ठ नेता राजेन्द्र महतो पनि हुनुहुन्छ । उपेन्द्र यादव पनि केन्द्रीय अध्यक्ष हुनुहुन्छ । र बावुराम भट्टराई संघीय परिषदको अध्यक्ष हुनुहुन्छ । उहांहरुको लाईनको कुरा होला । तर मेरो पार्टीको लाईन हो । र मैले के भनेको भने विगतमा पनि मैले भनेको थिए । कुनै पनि सरकारसंग हाम्रो सहकार्य हुनसक्छ, सहकार्य जोसंग पनि हुन सक्छ । तर, त्यसको पांच वटा आधार त त्यही लाईन एउटा लाईन तपाईले भन्नुभयो । राजेन्द्रजी र महन्थजीले जुन लाईन भन्नुभएको थियो नी । हातो हात,नगदी,क्यास । त्यो शब्दको राजनैतिक उत्पती त उहांहरुले नै गर्नुभएको हो ।
रेशम चौधरी रिहाई हुनुपर्यो,लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्यो । नागरिकता विद्येयक पास हुनुपर्यो । हामीले भनेअनुसार । र हत्या र अन्य मुद्दाहरु थमन विकको महोतरीको घटना,नवलपरासीको घटना । हत्या,ज्यान मार्ने उद्योगलगायत थारु आन्दोलनका मुद्दाहरु फिर्ता हुनुपर्यो । र संविधान संशोधन हुनुपर्यो । त्यसका लागी कार्यदल गठन हुनुपर्यो । आयोग गठन हुनुपर्यो भन्ने जुन उहांहरुको माग थियो । त्यो मागबमोजिम एउटा पनि सम्बोधन भएको हो ?
मुद्दा सम्बोधन भएको हो भने गुलेली हानेको,बसको सिसा फुटाएको,टेम्पु रोकेको,साइकलमा ढुंगा हानेको,आंखा तेस्र्याएको अनि पेट्रोल छर्केको,बाटो अवरोध गरेको । त्यस्ता मुद्दाहरु फिर्ता गरेर मधेषमा माहोल बन्छ । र मधेषका मुद्दाहरु फिर्ता भयो भनेर कसैले भन्छ भने यो उनिहरुको भ्रम मात्र हो । यसले कुनै माहोल बन्दैन । प्रधानमन्त्री केपी शर्मा ओलीले पांच वटा मुद्दा सम्बोधन गर्नुहुन्छ भने त्यसपछि सोच्न सकिन्छ ।
अहिलेको अवस्थामा सरकार बनाउन र ढाल्न जसपा निर्णायक शक्ति बनेर आएको छ । तर,जसपाभित्र पनि तपाईहरुको समुह निर्णायक छ । यसअघि तपाईहरुको उपेन्द्र यादवसंग दुरी बढेको थियो । फेरी अहिले सहकार्य भएको छ । अव कसरी अगाडी बढ्नुहुन्छ ?
– म न उपेन्द्र यादव पक्ष हो न महन्थ ठाकुरको पक्ष हो । हामीहरु पार्टीको पक्षमा उभिएका छौं । पार्टीमा छौं भने पार्टीको लाइन मान्नुपर्छ । बहुमतबाट निर्णय भएको छ भने मान्नुपर्छ । हाम्रो विचार फरक हुनसक्छ । तर,मेरो विचार बहुमतले स्विकृत भएन भने अल्पमतले बहुमतको निर्णय मान्नुपर्छ । महन्थ ठाकुर र राजेन्द्र महतोमाथी जुन कुरा अहिले लागु हुन्छ । उहांहरुले बहुमतको निर्णय मानेर जानुपर्छ । र मान्नुपर्छ । पार्टीलाई मान्नुपर्छ । पार्टीमा बस्ने हो भने मान्नुपर्छ ।
मैले पनि भोली बहुमतले मेरो निर्णय फेल भयो,मेरो विचार फेल भयो भने मैले पार्टीको सिद्धान्त मान्नुपर्छ, पार्टीमा बस्नुपर्छ भने त्यसको निर्णय नै मानेर अघि बढ्नुपर्छ । र हामी अहिलेको आवश्यकताअनुसार जुन सबैभन्दा बढी फाईदा हुने,मागको सम्बोधन हुने त्यो लाइनमा हामी जान्छौ ।
दुई महिनाभन्दा बढीसक्यो । केपी ओलीले यो दुई महिनामा हामीलाई के दिनुभयो । वार्ता त दैनिकजसो भइरहेको छ नी । यस्तो वार्ता विरवलको खिचडीजस्तो अहिलेसम्म मैले देखेको नै थिएन । खिचंडी सय फिटमाथी हांडी टागेको छ तल आगो सल्काइएको छ ।
त्यहीअनुसार अहिले केपी ओली सरकारसंग दुई जना महान वार्ताकारहरु पार्टीको निर्णय विना वार्ता गर्दै हुनुहुन्छ । र गुलेली हान्ने र आंखा तेस्र्याउने मुद्दा फिर्ता गराएका छन् । त्यसका लागी विशेष धन्यवाद छ उहांहरु र केपी सकारलाई । उहांहरुले नै मुद्दा दर्ता गर्न लगाउनुभएको थियो । उहांहरुले नै फिर्ता गर्नुभएको छ । तर गुलेली हान्ने र आंखा तेस्र्याउने,ढुंगा हान्ने,सिसा फुटाउने भन्ने मुद्दा फिर्ता लिएर हुंदैन ।
रेशम चौधरी,थारु आन्दोलनका मुद्दा,मधेष आन्दोलनको बेला हत्या र जघन्य हत्यामा फसाइदिएका राजनीतिक मुद्दाहरु फिर्ता हुनुपर्छ । संविधान संशोधन,नागरिकता विद्येयक,सिमाकंन हेरफेरसम्बन्धी मुद्दा सम्बोधन हुनुपर्छ । हामीले त्यहां दर्ता गराएका छौं । कांग्रेसले संविधान संशोधनको लागी सरकारी विद्येयक नै लगेको थियो । एमालेले भोट नदिंदा त्यो फेल भयो । र हामीले पनि नक्सा संशोधनको बेला एउटा विद्येयक लगेका छौं । प्राइभेट विद्येयक । त्यो छदैंछ । उहांहरु त्यसमा अगाडी बढेपछि मात्र त्यो माहोल बन्छ ।
हिजो जुन व्यक्तिको कारण जसपा बन्यो आज त्यसैलाई हेर्ने दृष्ट्रिकोणमा भिन्नता हुंदा जसपा विभाजन हुने भयो है ?
– हैन हामी कारण हैनौं नी । विभाजन पनि हुंदैन । अव त्यसरी नभनौं । किनकी मलाई जहांसम्म लाग्छ विरोध गरिरहेका साथीहरु,उदण्ड किसिमका,अपराधिक चरित्र भएका,पार्टीको ह्विप नै नमान्ने,पार्टीको निति र सिद्धान्तमा नै नबस्ने र उल्लंघन गर्ने त्यस्ता चांही । पार्टीको लाईनभन्दा बाहिर गएर आफै मन लाग्ने काम गर्ने । एउटा पार्टीको सांसद हुने,पार्टीको चिन्ह्बाट जित्ने अनि पार्टीको निर्णयविपरित सपथ खाईदिने मान्छेहरुको लागी एउटा पाठ हुन्छ । त्यसमा उहांहरु सहमत भएर आउनुहुन्छ भन्ने मलाई पूर्ण विश्वास छ ।




प्रतिक्रिया